बर्लिन(जर्मनी), ३० आषाढ (एजेन्सी) । आज राति युरो कप २०२४ को फाइनल खेल हुँदै छ । आइतबार राति हुने फाइनल खेलमा इंग्ल्यान्ड र स्पेन उपाधिका लाग भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।
स्पेन यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा र ड्यानी ओल्मोको समन्वय मिलेको छ । मिडफिल्डमा रोड्रीले उच्च प्रदर्शन गरिरहेका छन् । प्रशिक्षक लुइस डे ला फुएन्टे स्पेनलाई इतिहासमै पहिलो पटक चार युरो उपाधि जित्ने टोली बनाउने लक्ष्यमा छन् ।
यता ग्यारेथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले मिश्रित प्रदर्शन गरिरहेको छ । तर नतिजा आफ्नो पक्षमा पार्दै टोली फाइनलको यात्रा तय गर्न सफल भएको हो । सेमिफाइनलमा ओली वाटकिन्सले इन्ज्युरी समयमा गोल गर्दै टोलीको उपाधि भिडन्तमा स्थान पक्का गरेका थिए । इंग्ल्यान्डले समूह चरणदेखि नै एकपक्षीय प्रदर्शन भने गर्न सकेको छैन । सन् १९६६ यता उपाधि जित्न नसकेको इंग्ल्यान्ड त्यो खडेरी तोड्न चाहन्छ ।
स्पेनको फाइनल यात्रा:
समूहमा क्रोएसिया (३-०), इटाली (१-०), अल्बानिया (१-०)
राउन्ड अफ १६मा जर्जिया (४-१)
क्वाटरफाइनलमा जर्मनी (२-१)
सेमिफाइनलमा फ्रान्स (२-१)
इंग्ल्यान्डको फाइनल यात्रा:
समूहमा सर्बिया (१-०), डेनमार्क (१-१), स्लोभेनिया (०-०)
राउन्ड अफ १६ मा स्लोभाकिया (२-१)
क्वाटरफाइनलमा स्विटजरल्यान्ड (१-१) टाइब्रेकरमा ५-३
सेमिफाइनलमा नेदरल्यान्ड्स (२-१)


















