Prakash Adhikari July 14, 2024
काठमाडौँ, ३० असारः राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेको संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
उहाँलेसरकार गठनका लागि तोक्नुभएको समयसीमा उहाँलाई प्रधानमन्त्री्र नियुक्त गर्न प्रतिनिधिसभामा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट संयुक्त रुपमा एक मात्र निवेदन परेकोले निर्धारित समयसीमा समाप्त भएपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गर्नुभएको थियो ।
तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्तिको प्रक्रिया अघि बढाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै साँझ हुने निश्चित भए पनि शपथ कार्यक्रम भने सोमबार हुने बताइएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि उहाँ स्वतः पदमुक्त हुनुभएको थियो ।
त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
Share Now