माले (माल्द्धीभ्स्),३ साउन । काभा यू २० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।
नेपाली महिला उमेर समूह जेनिशा विकको नेतृत्वमा प्रतियोगितामा भिड्दै छ ।
नोली खेलाडीहरु पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि उत्साहित भएका छन् । कप्तान जेनिशाले भनिन्, ‘हामी प्रतियोगिताको लागि तयार छौं । श्रीलंकासँगको पहिलो खेलमा राम्रो नतिजासिपत प्रतियोगिता सुरु गर्न चाहन्छौं ।
यस्तै मुख्य प्रशिक्षक कुमार राई पहिलो खेल महत्वपूर्ण हुने भएकोले त्यसमा केन्द्रित हुने बताए । ‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न हामी खेलाडीसहित सबै जना उत्साहित छौं। पहिलो खेल जितसहित प्रतियोगितामा सुरु गर्न चाहन्छौं’, उनले भने ।
नेपाली टोलीमा रहेका १२ खेलाडीसँग नै घरेलु भलिबलमा सिनियर स्तरको प्रतियोगिता खेलेको अनुभव छ ।
नेपालले दोस्रो खेल शुक्रबार कीर्गिस्तान तथा तेस्रो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको खेलपछि सेमिफाइनल हुनेछ । लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ ।
सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।
नेपाली टोलीमा सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री रहेका छन् ।
खेलमा मुख्य प्रशिक्षक कुमार राई, प्रशिक्षक अर्जुन घिमिरे र व्यवस्थापक जुनु पुनले नेपाली खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र निर्देशन दिईरहेका छन् ।