नयाँदिल्ली(भारत), ६ साउन । बाङ्ग्लादेशमा हिंसात्मक प्रदर्शनका बीच शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो।
७६ वर्षीया शेख हसिना सन् २००९ देखि १७ करोडभन्दा बढी जनसङ्ख्या भएको देशकी प्रधानमन्त्री हुनुहुन्थ्यो।
बाङ्ग्लादेशका विद्यार्थीहरूले गत महिनादेखि सरकारी जागिरमा आरक्षणलाई लिएर विरोध गरिरहेका थिए।
यो प्रावधानअन्तर्गत सन् १९७१ मा देशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारलाई बाङ्ग्लादेशमा ३० प्रतिशत आरक्षण दिइँदै आएको थियो।
तर, पछि बाङ्ग्लादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरे पनि प्रदर्शनकारी विद्यार्थीहरू प्रम शेख हसिनाको राजीनामाको मागमा अडिग रहे।
यो घटना हुनुभन्दा ४९ बर्ष अघि पनि शेख हसिनाले भारतमा शरण लिनुभएको थियो र त्यतिबेला प्रधानमन्त्री इन्दिरा गान्धी हुनुहुन्थ्यो।
‘इन्दिरा गान्धी आफैँले उठाएको त्यो फोन’
अगस्ट १५, १९७५ः शेख हसिना आफ्ना श्रीमान् डाक्टर वाजेद र बहिनी रेहानासँग ब्रसेल्समा बाङ्ग्लादेशका राजदूत सनउल हकसँग बसिरहनुभएको थियो।
त्यहाँबाट उहाँहरू प्यारिस जानुपर्ने थियो तर एक दिनअघि कारको ढोकामा डाक्टर वाजेदको हात परेपछि प्यारिस जाने वा नजाने सोच्दै गर्दा बिहान ६ः३० बजे राजदूत सनउल हकलाई फोन आयो।
अर्को छेउमा जर्मनीका लागि बाङ्ग्लादेशका राजदूत हुमायुन रसिद चौधरी हुनुहुन्थ्यो।
उहाँले त्यो दिन बिहानै बाङ्ग्लादेशमा सैन्य विद्रोह भएको बताउनुभयो। उहाँले प्यारिस नजान र तुरुन्तै जर्मनी फर्किन आग्रह गर्नुभयो।
राजदूत सनउल हकले शेख मुजिबुर सैन्य विद्रोहमा मारिएको थाहा पाएपछि शेख हसिना, डाक्टर वाजेद र रेहानालाई सहयोग गर्न अस्वीकार गर्नुभयो।
त्यति मात्रै होइन हकले हसिनाहरूलाई आफ्नो घर छोड्न पनि भन्नुभयो।
सन् २०१६ मा शेख मुजिबुरको पुण्यतिथिमा आयोजित एक कार्यक्रममा उक्त घटनालाई स्मरण गर्दै शेख हसिनाले भन्नुभयो, “हामी उहाँका लागि बोझ बनेका थियौँ यद्यपि शेख मुजिबुरले उहाँलाई बेल्जियमका लागि बाङ्ग्लादेशको राजदूत बनाउनुभएको थियो र त्यो राजनीतिक नियुक्ति पनि थियो। उहाँले हामीलाई जर्मनी जानको लागि कार दिन पनि मान्नुभएन।”
यद्यपि जर्मनीका लागि बाङ्ग्लादेशका राजदूत हुमायुन रसिद चौधरीको सहयोगमा उहाँहरू कुनै न कुनै तरीकाले जर्मनी पुग्नुभयो।
आधा घण्टामै युगोस्लाभिया भ्रमणमा रहेका बाङ्ग्लादेशका विदेशमन्त्री डाक्टर कमल हुसेन पनि त्यहाँ पुग्नुभएको थियो।
त्यो साँझ जर्मनीको प्रसारण संस्था डचेवेले र केही जर्मन अखबारका पत्रकारहरू राजदूतको घरमा उहाँको प्रतिक्रिया लिन आउनुभयो।
शेख हसिना र उहाँकी बहिनी रेहाना यति स्तब्ध हुनुहुन्थ्यो कि उहाँहरू सञ्चारकर्मीसँग बोल्नुभएन।
विदेशमन्त्री कमल हुसेन पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो तर एक शब्द पनि बोल्नुभएन।
राजदूत चौधरीले पक्कै पनि शेख मुजिबुरका दुवै छोरी आफूसँग रहेको भन्ने सञ्चारकर्मीलाई बताउनुभएको थियो।
यसैबीच युगोस्लाभियाका राष्ट्रपति मार्शल टिटोले उनीहरूको स्वास्थ्य अवस्थाबारे सोध्नुभयो तर उहाँहरू अब कहाँ बस्ने भन्ने स्पष्ट भएको थिएन।
हुमायुन रशीद चौधरीका छोरा नौमान रशीद चौधरीले बाङ्ग्लादेशको प्रसिद्ध पत्रिका ‘द डेली स्टार’को अगस्त १५, २०१४ अंकमा एउटा लेख लेख्नुभएको थियो।
‘बंगबंधुज डटर्स’ शीर्षकको लेखमा उहाँले भन्नुभयो, “मेरो बुबाले पश्चिम जर्मनीका लागि भारतका राजदूत वाईके पुरीलाई कूटनीतिक समारोहमा सोध्नु भयो के भारतले शेख हसिना र उहाँको परिवारलाई राजनीतिक शरण दिन सक्छ?”
उहाँले त्यसबारे सोधखोज गर्ने जबाफ दिनुभयो।
“भोलिपल्ट उहाँ मेरो बुवालाई अफिसमा भेट्न आउनुभयो र भन्नुभयो( सामान्यतया भारतमा राजनीतिक शरण दिने प्रक्रिया लामो छ। उहाँले मेरा बुवालाई एक विशेष सुझाव दिनुभयो”, उहाँले भन्नुभयो।
“स्वतन्त्र हुनुअघि बाङ्ग्लादेश मिशनको प्रमुख हुनु भएकाले तपाईँ दिल्लीमा धेरै प्रसिद्ध हुनुहुन्छ। तपाईँलाई इन्दिरा गान्धी र उनका सल्लाहकारहरू डीपी धर र पीएन हक्सारले मन पराउँछन्। तपाईँ आफैँले उनीहरूलाई किन सम्पर्क नगर्ने?”
चौधरीले पुरीको उपस्थितिमै डीपी धर र हक्सारलाई फोन गर्नुभयो। तर त्यतिबेला दुवै भारतबाहिर हुनुहुन्थ्यो।
उहाँ इन्दिरा गान्धीलाई फोनमा बोलाउन हिचकिचाउँनुहुन्थ्यो किनभने दुवैको हैसियतमा धेरै भिन्नता थियो । इन्दिरा देशकी प्रधानमन्त्री, चौधरी सामान्य राजदूत मात्र ।
उहाँलेले इन्दिरा गान्धीलाई धेरै पटक भेट्नुभएको थियो तर पछिल्ला तीन वर्षदेखि उहाँको कुनै सम्पर्क थिएन।
राजनीतिमा तीन वर्ष लामो समय हो। त्यति बेला भारतमा सङ्कटकाल थियो र इन्दिरा गान्धी आफैँ आफ्नै समस्यासँग सङ्घर्ष गरिरहनुभएको थियो।
नौमन रशिद चौधरी लेख्नुहुन्छ, “कुनै पनि ठाउँबाट कुनै सङ्केत नदेखिएपछि हुमायुन चौधरीले इन्दिरा गान्धीको कार्यालयमै फोन गर्नुभयो। यो नम्बर उहाँलाई भारतीय राजदूत पुरीले दिनुभएको थियो। चौधरीले यो कल टेलिफोन अपरेटरभन्दा परसम्म पुग्ला भन्ने आशा गरिरहनुभएको थिएन। तर उहाँ स्तब्ध हुनुभयो जब इन्दिरा गान्धी आफैँले त्यो फोन उठाउनभयो। उहाँले इन्दिरा गान्धीलाई सबै कुरा बताउनुभयो। बंगबन्धुका छोरीहरूलाई राजनीतिक शरण दिन गान्धी तुरुन्तै तयार हुनुभयो।”
अगस्ट १९ मा राजदूत पुरीले चौधरीलाई शेख मुजिबुरका छोरीहरू र उनीहरूको परिवारलाई दिल्ली पुर्याउने प्रबन्ध तुरुन्तै मिलाउन दिल्लीबाट निर्देशन आएको बताउनुभयो।
युरोपबाट शेख हसिना भारतमा
२४ अगस्ट १९७५ मा शेख हसिना र उहाँको परिवार एअर इन्डियाको विमानबाट दिल्लीको पालम एअरपोर्ट पुगे।
उहाँलाई मन्त्रिपरिषद्का सहसचिवले स्वागत गर्नुभयो। पहिले उहाँलाई रअको ५६, रिङरोडस्थित सेफ हाउसमा लगियो।
पछि उहाँलाई डिफेन्स कोलोनीको घरमा सारिएको थियो। दश दिनपछि सेप्टेम्बर ४ तारिखमा रअका अफिसरले उहाँलाई सफदरजंग रोडस्थित प्रधानमन्त्री इन्दिरा गान्धीको निवास लग्नुभयो।
इन्दिरा गान्धीलाई भेटेपछि शेख हसिनाले सोध्नुभयो, “के तपाइँसँग १५ अगस्टमा के भयो भन्ने पूर्ण जानकारी छ?”
त्यहाँ उपस्थित एक अधिकारीले उनको परिवारको कुनै सदस्य जीवित नरहेको बताउनुभयो। यो सुनेर शेख हसिना रुन थाल्नुभयो।
शेख हसिनाका जीवनी लेखेका सिराजुद्दीन अहमदले लेख्नुभएके छ, “इन्दिरा गान्धीले हसिनालाई अँगालो हालेर सान्त्वना दिने प्रयास गर्नुभयो। उहाँले भन्नुभयो कि तिमीलाई पर्न गएको नोक्सानी पूर्ति हुन सक्दैन। तिम्रा एक छोरा र छोरी छन्। आजदेखि तिमीले आफ्नो छोरालाई आफ्नो बुबाको रूपमा र छोरीलाई आमाको रूपमा सम्झनू।”
सिराजुद्दीन अहमदका अनुसार भारतमा रहँदा इन्दिरा गान्धीसँग शेख हसिनाको भेट यही एक पटक मात्रै भएको थियो। तर रअका गुप्तचर अधिकारीहरूका अनुसार शेख हसिना र इन्दिरा गान्धीबीच धेरै पटक भेटघाट भएका थिए।
यस भेटको दश दिनपछि शेख हसिनालाई इन्डिया गेट नजिकैको पाण्डारा पार्कको सी ब्लकमा फ्ल्याट दिइएको थियो। त्यहाँ तीन वटा शयन कक्ष र केही फर्निचरहरू थिए। बिस्तारै हसिनाले केही फर्निचर किन्न थाल्नुभयो।
उहाँलाई मानिससँग भेटघाट नगर्न र घरबाट बाहिर ननिस्कन कडा सल्लाह दिइएको थियो। उहाँलाई व्यस्त राख्न टेलिभिजन पनि दिइएको थियो।
त्यतिबेला टेलिभिजनमा एउटा मात्र च्यानल दूरदर्शन आउँथ्यो र त्यो पनि दिनभरिमा जम्मा दुई घण्टा।
सुरक्षामा खटिएका अधिकारीहरूको परिचय नै परिवर्तन
नाम नखुलाउने सर्तमा रअका एक पूर्व गुप्तचर अधिकारी भन्नुहुन्छ, “शेख हसिनाको सुरक्षाका लागि दुई जना तैनाथ गरिएको थियो। एक जना इन्स्पेक्टर सत्तो घोष हुनुहुन्थ्यो, जसलाई पश्चिम बंगालबाट बोलाइएको थियो र अर्का सन् १९५० ब्याचका आईपीएस अधिकारी पीके सेन । चाखलाग्दो कुरा के हो भने इन्स्पेक्टर घोष हसिनाको सुरक्षामा तैनाथ हुनुहुन्थ्यो भने आईजी स्तरका पीके सेनलाई हसिनाको सुरक्षामा छायाँ जस्तै गरी खटाइएको थियो ।
अक्टोबर १, सन् १९७५ मा हसिनाका श्रीमान् डाक्टर वाजेदलाई पनि परमाणु ऊर्जा विभागमा फेलोशिप प्रदान गरिएको थियो।
रअका पूर्व अधिकारी भन्नुहुन्छ, “शेख हसिनाको सबै खर्च भारत सरकारले बेहोरेको थियो। उहाँलाई नाममात्रैको खर्च दिइएको थियो र त्यो पनि कोलकातामा बस्ने उहाँका एक स्रोत चित्तरञ्जन सुतारमार्फत् उपलब्ध गराइएको थियो।”
हसिनाको दिल्ली बसाइलाई पूर्ण रूपमा गोप्य राख्ने प्रयास भए पनि बाङ्ग्लादेश सरकारलाई शेख हसिनाको परिवार दिल्लीमा बसेको थाहा थियो।
सन् १९७६ को मे महिनाको सुरुमा शेख हसिना र उहाँकी बहिनी रेहानालाई भेट्न भारतका लागि बाङ्ग्लादेशका उच्चायुक्त शमसुर रहमान र उहाँकी श्रीमती उनीहरूकै निवासमा गएका थिए। हसिना र उहाँकी बहिनीले उनीहरूलाई अँगालो हालेर रुनुभएको थियो।
शेख रेहाना सन् १९७६ मा उच्च माध्यामिक तहको परीक्षामा सहभागी हुन लाग्नुभएको थियो तर बाङ्ग्लादेशको घटनाका कारण उहाँको पढाइ रोकिएको थियो।
सन् १९७६ को जुलाईमा शान्तिनिकेतनमा उहाँको भर्नाको प्रबन्ध मिलाइएको थियो तर सुरक्षाको कारणले पछि यो विचार त्याग्नुपर्यो।
त्यही महिनाको २४ तारिखमा शेख रेहानाले लन्डनमा शफिक सिद्दीकीसँग विवाह गर्नुभयो। तर शेख हसिना र उनका श्रीमान् त्यो विवाहमा सहभागी हुन सक्नुभएन ।
मोरारजी देसाईले शेख हसिनाको सुरक्षा घटाए
इन्दिरा गान्धी सन् १९७७ को चुनावमा पराजित हुनुभयो र नयाँ प्रधानमन्त्री मोरारजी देसाईले हसिनालाई दिइएको सुरक्षा व्यवस्था घटाइदिनुभयो ।
यस अवधिमा इन्दिरा सरकारका मन्त्री प्रणव मुखर्जी र उहाँको परिवार हसिना र उहाँको परिवारसँग निरन्तर सम्पर्कमा रहेका थिए। धेरै पटक हसिनाका छोराछोरीहरू प्रणव मुखर्जीको सरकारी घरमा खेलिरहेका देखिन्थे।
प्रणव मुखर्जीले आफ्नो आत्मकथा ‘ड्रामाटिक डिकेड’मा लेख्नुभएको छ, दुवै परिवार प्रायः भेट्ने मात्रै होइन दिल्ली बाहिर ुपिकनिकुमा पनि जाने गर्थे।
यसैबीच सन् १९७७ मा चुनाव भयो र इन्दिरा गान्धी चुनावमा पराजित भइन्। नयाँ प्रधानमन्त्री मोरारजी देसाईले रअको सञ्चालनमा खासै चासो दिनुभएन।
एमए वाजेद मियाँ आफ्नो पुस्तक ‘बंगबन्धु शेख मुजिबुर रहमान’मा लेख्नुहुन्छ- शेख हसिना र डा. वाजेदले रेहानालाई दिल्ली ल्याउने सन्दर्भमा अगस्ट १९७७ मा मोरारजी देसाईलाई भेट्नुभयो। मोरारजी देसाईले रेहानालाई दिल्ली आउने व्यवस्था पनि गरिदिनुभयो। रेहाना आउनुभयो। सन् १९७७ डिसेम्बरको दोस्रो साता दिल्ली पुगेकी रेहाना शेख हसिनासँग उहाँको पाण्डारा पार्क फ्ल्याटमा बस्न थाल्नुभयो ।
तर बिस्तारै मोरारजी देसाईले हसिनाको संरक्षणबाट हात झिक्न थाल्नुभयो।
सिराजुद्दीन अहमद लेख्नुहुन्छ, “विस्तारै-विस्तारै डा. वाजेद र हसिनालाई यस्तो दबाव दिइयो कि उनीहरू आफै भारत छोडेर कतै जानुपर्छ। पहिले उहाँहरूको बिजुलीको बिल भुक्तानी रोकियो र त्यसपछि गाडीको सुविधा पनि बन्द गरियो। “डा. वाजेदले आफ्नो फेलोशिपको म्याद एक वर्ष थप गर्न आवेदन दिनुभयो तर तीन महिनासम्म कुनै प्रतिक्रिया आएन। उहाँलाई आर्थिक समस्या भयो। मोरारजीले अन्ततः फेलोशिप जम्मा एक वर्ष बढाउन आदेश दिनुभयो।
जनवरी १९८० मा इन्दिरा गान्धी फेरि सत्तामा आउनुभयो र शेख हसिनाका सबै समस्या एक पटक फेरि हटे।
४ अप्रिल १९८० मा शेख हसिना रेहानालाई भेट्न आफ्ना छोराछोरीसहित लन्डन जानुभएको थियो।
सन् १९८० मा नै अवामी लीगका धेरै नेता शेख हसिनालाई भेट्न दिल्ली आए र उहाँलाई ढाका फर्किन अनुरोध गरे।
डाक्टर वाजेद हसिना ढाका फर्किऊन् भन्ने पक्षमा हुनुहुन्थेन। हसिना प्रत्यक्ष राजनीतिबाट टाढा रहनुपर्छ भन्ने उहाँको मान्यता थियो।
अन्ततः मे १७, १९८१ मा शेख हसिना आफ्नी छोरी र अवामी लीगका नेता अब्दुस समद आजाद र कोरबान अलीसँग ढाका प्रस्थान गर्नुभयो।
उहाँलाई ढाका एअरपोर्टमा १५ लाख मानिसले स्वागत गरेका थिए।
फेब्रुअरी सन् १९८२मा डा. वाजेदले बाङ्ग्लादेश परमाणु आयोगमा आवेदन दिनुभयो। उक्त आयोगले उहाँलाई बस्नका लागि महाखालीमा दुई कोठाको घर दिएको थियो।
हसिना र वाजेदसँगै त्यही घरमा बस्नुभयो र छोराछोरीलाई स्कोल्स्का माध्यमिक विद्यालय धानमण्डीमा भर्ना गर्नुभयो।