काठमाडौँ, २७ साउन । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेट गर्नुभएको छ ।
मिस्रीले प्रधानमन्त्री ओलीसंग गर्नुभएको शिष्टाचार भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको बताइएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।
सभापति देउवासँग भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो ।
अध्यक्ष दाहालसँग भेट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको हो ।
यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।
सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी भोलि साउन २८ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने तालिका छ ।