Prakash Adhikari July 24, 2018

काठमाडौं। ९ साउन । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको कार्यदलको सिफारीस अनुरुप आएको अध्यादेश बमोजिम हुनेपर्ने माग राख्दै २६ दिनदेखि आमरण अनसनमा उत्रिनुभएका प्रा. डा. गोविन्द केसीका मागमा आज सहमति जुट्ने संभावना देखिएको छ ।

डा. के.सी.का वार्ताकार र सरकारी वार्ता टोलीबीच मंलगबार भएको वार्ता निकै सकारात्मक भएको जनाइएको छ। साँझ ६ बजे शिक्षा मन्त्रालयमा भएको भेटवार्ता पछि प्रकाशित विज्ञप्तिमा डा. गोविन्द केसीले उठाएका मध्ये अधिकांश बूँदामा सहमति भए पनि केही बूँदामा अझै सहमति हुन बाँकी रहेको कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– भोली बिहान ९ बजे पुनः ती विषयमा छलफल गरेर सहमति जुटाइने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गठित तीन सदस्यीय वार्ता समितिका संयोजक शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने सहभागी हुनुहुन्थ्यो भने डा. केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी हुनुभएको थियो ।

डा.के.सी. को आमरण अनशनको आज २६ औं दिन भएको र उहाँको स्वास्थ्य स्थिति जटील बन्दै गएकोले सहमतिमा बिलम्ब नहुने आशा गरिएको छ । डा. के.सी.ले सरकारको उपचार पनि लिन मान्नुभएको छैन् । यो उहाँको आजसम्मको लामो अनशन हो ।

सरकारमाथि डा. के.सीका मागहरु सदासयतापूर्वक पूरा गर्न चौतफी दबाव बढ्दो छ । डा. के.सीको समर्थनमा सामूहिक अनसन समेत आरम्भ भैसकेको छ ।

डा.के.सी.को विरोध गर्दै सरकारको बचाउ गर्ने सन्दर्भमा अमर्यादित अभिब्यक्ति दिएका कारण सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाड.ले हिजो राजिनामा दिनुभयो ।

यो समस्याको समाधान जति ढिलो भयो, सरकार उति नै आलोच्य र बदनाम हुँदै जाने अबस्था छ ।

Share Now

Leave a comment.