काठमाडौं, ३२ आषाढ । नेपालले सन् २०२८ को टी–२० क्रिकेट विश्वकपका सिधै ग्लोबल छनोटमा जान पाउने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२७ को एकदिवसीय विश्वकप र सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ प्रतियोगिता ढाँचा सार्वजनिक गरेसंगै नेपालको विश्वकप सहभागिताको फराकिलो ढोका खुला भएको हो ।
स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक साधारणसभाले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन नयाँ ढाँचा अनुमोदन गरेको हो ।
नेपाल सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भएको तर स्वतः छनोट हुन नसकेका आठ टोलीमध्ये एक हो । त्यसैले नेपालले अब एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन । नेपालसँगै क्यानडा, इटाली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र संयुक्त राज्य अमेरिका (युएसए) पनि सिधै १६ टोलीको ग्लोबल क्वालिफायरमा पुगेका छन्।
ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान भने क्षेत्रीय छनोटबाट पूरा हुनेछन्। अफ्रिका, एसिया र युरोपबाट समान दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट हुनेछन् ।
१६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट ८ टोलीले विश्वकप खेल्दा प्रत्येक क्षेत्रको उत्कृष्ट एक टोली स्वतः विश्वकपमा पुग्नेछ । त्यसबाहेक समग्र प्रदर्शनका आधारमा उत्कृष्ट थप तीन टोलीले पनि सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन् । यसका लागि आईसीसीले तोकेको न्यूनतम प्रदर्शन मापदण्ड पूरा गर्नुपर्नेछ ।
सन् २०२८ को टी–२० विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।
प्रतियोगितामा २० टोलीकै सहभागिता रहनेछ । नयाँ ढाँचाअनुसार प्रारम्भिक चरणमा २० टोलीलाई चार–चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१० चरणमा पुग्नेछन् ।
सुपर–१० मा दुई समूह रहनेछन् । दुवै समूहका विजेता टोली सिधै सेमिफाइनलमा पुग्नेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुनेछ । त्यसका विजेताले बाँकी दुई सेमिफाइनल स्थान सुरक्षित गर्नेछन् ।
यस्तै, सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोलीको सहभागिता कायम रहने भए पनि प्रतियोगिताको ढाँचा परिवर्तन गरिएको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा तीन चरणको नयाँ संरचना लागू हुनेछ ।
१४ टोली सहभागी हुने एकदिवसीय विश्वकपमा १२ देखि १४ वरीयताको टोलीबीच पहिलो चरण हुनेछ । उक्त त्रिकोणात्मक सिरिजबाट एक टोलीले १२ टोलीको २ सुपर सिक्स समुह हुँदै विश्वकप खेल्नेछन् ।
आईसीसीका अनुसार नयाँ ढाँचाले थप अर्थपूर्ण प्रतिस्पर्धा, उच्च स्तरको खेल र खेलाडी तथा समर्थक दुवैका लागि उत्कृष्ट प्रतियोगितात्मक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।








