२० मंसिर, काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर २१ गते हुने दोस्रो चरणको निर्र्वाचनमा निर्भयतापूर्वक मतदान गर्न अनुरोध गर्नुभएको छ ।
निर्वाचनको पूर्व सन्ध्यामा बुधबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा आयोगले ४५ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ प्रदेशसभाका २ सय ५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो ।
मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा हार्दिक अनुरोध गरेका थिए ।
यो निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने भएकोले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने प्रमुख आयुक्त यादवले बताए ।
दोस्रो चरण अन्तर्गत बिहिबार हुने चुनावमा जम्मा ४ हजार ४ सय ८२ जना उम्मेदवारहरुवीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिनिधिसभाका १ सय २८ सिटका लागि १ हजार ६ सय ६६ र प्रदेशसभाका २ सय ५६ सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी दुई हजार ८ सय १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका १ सय १० सिट र प्रदेशसभाका २ सय २० सिटका लागि ५ हजार ८ सय ३८ जना चुनावी मैदानमा रहेका छन् ।
दोस्रो चरण अन्तर्गत बिहीबार हुने ४५ जिल्लामा जम्मा मतदाता १ करोड २२ लाख ३९ हजार ९ सय ९३ जना रहेका छन् ।
परिचय खुल्ने सरकारी प्रमाणपत्रका आधारमा भोट हाल्न पाइने
निर्वाचन आयोगले मतदान गर्ने अधिबारबाट बञ्चित नहुन भनी परिचय खुल्ने सरकारी प्रमाणपत्रहरुबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।
कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा नागरिकताको प्रमाणपत्र वा ०७० को मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्ने व्यवस्था गरिएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।
यस्तै राहदानी वा सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य कुनै परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको प्रमुख आयुक्त यादवले बताए ।
अपाङ्गता र जेष्ठ नागरिकलाई प्राथमिकता
बिहिबार हुने चुनावका लागि अपाङगता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिन आयोगले आग्रह गरेको छ ।
कुनै पनि मतदान केन्द्रमा अशक्त र जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको आयोगले जनाएको छ ।