Prakash Adhikari April 2, 2019

कलैया(बारा), १९ चैत्र । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि आईतबार राति आएको आँधीबाट प्रभावित बारा र पर्सा जिल्लाका गाँउहरुमा पीडितहरुको उद्धार र राहत कार्यमा खटिनुभएको छ ।

नेपाली कांग्रेसले सोमबारदेखि नै पार्टीका तर्फबाट उद्धार राहत कार्यको समन्वय गर्न उहाँलाई खटाएको थियो । उहाँको नेतृत्वमा नेतृत्वमा बारा र पर्सामा उद्धारका लागि कांग्रेसको टोली सक्रिय रहेको छ । उपसभापति निधिको नेतृत्वमा केन्द्रिय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, अजय चौरसिया, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव सहित प्रदेश २ का सांसदहरु, बाराका जिल्ला सभापति जयचन्द्र चौरसिया र पर्सा सभापति अजयद्धिवेद्धी सहित जिल्ला तथा नगर र गाँउस्तरीय कार्यकर्ताहरु रहेका छन् ।

निधिको टोलीले बारा र पर्साका अति प्रभावित क्षेत्रमा उद्दार गरी पीडितहरुलाई राहत वितरणको बन्दोबस्त गरिरहेको छ । कांंग्रेस उपसभापति देउवाले घटना अत्यन्तै विभत्स भएको बताउदै पक्की घरका छानाहरु उडेको र पानी तान्ने कल समेत तलैबाट उखेलिएको बताउनुभएको छ । निधि नेतृत्वको टोलीले सोमबार सबै भन्दा बढी प्रभावित फेटा, परशुरामपुर, हर्दिया, पुरैनीयाँ, तेलकुँवा लगायतका बढी प्रभावित क्षेत्रमा आफ्ना नेता कार्यकर्ताहरुलाई उद्धारमा खटाइएको थियो ।

उपसभापति निधिले पीडितका लागि आफ्नो तर्फबाट २ लाख सहयोग गर्नुभएको छ । प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले पनि २ लाख नै राहत स्वरुप सहयोग गर्नुभएको छ । कांग्रेसका अन्य नेता तथा प्रदेश सांसदहरु समेतबाट गरी कूल १० लाख रुपैया बाराका प्रमुख जिल्ला अधिकारी मार्फत राहत कोषमा हस्तान्तरण गरिएको छ।

निधि सोमबार दिउसो फेटास्थित एकै परिवारका चार जनाको निधन भएकाहरुको दाहसंस्कारमा समेत सहभागी हुनुभयो । उहाँले मृतकको परिवारसँग समेत भेट गर्नुभयो । फेटामा मात्रै आइतबारको घटनामा १२ जनाको निधन भएको थियो।

कांग्रेस सभापति देउवा मंगलबार बिहान ९ बजे बारा आउने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.