Prakash Adhikari June 29, 2019

कुपरटिनो,क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका),१३ आषाढ(बीबीसी) । एपल कम्पनीलाई दुई दशकभन्दा लामो समय दिएर विश्वकै सबैभन्दा मूल्यवान व्यवसाय बनाउन मद्दत गरेका ब्रिटिश नागरिक सर जोनी आइभले आफ्नो नयाँ व्यवसाय शुरू गर्न लागेका छन्।

एपललाई चर्चित बनाउने आईफोन, आईपोड र आईम्याकका कल्पनाकार आइभले लभफ्रम नामक आफ्नै सिर्जनात्मक व्यवसाय शुरू गर्ने र त्यसको पहिलो ग्राहक एपल हुने बताइएको छ।

“यो जीवनमा परिवर्तन गर्नका लागि प्राकृतिक र सहज समय लाग्यो,” उनले भने।

एपलका प्रमुख टिम कुकले ‘एपललाई पुनर्जीवन दिने उनको भूमिकाका बारेमा बढाएर भन्न नसकिने’ बताएका छन्।

तर उनको प्रस्थान आईफोनको विक्री घटेर एपलका शेयरधनीहरू चिन्तित भएको बेलामा भएको छ।

आईम्याक
सन् १९९८ मा जोनी आइभले आईम्याक बनाएका थिए
एक विज्ञप्तिमामा सर जोनाथनले भनेका छन्, “झण्डै ३० वर्ष र अनगिन्ती परियोजनाहरू पछि म एपलमा अन्त कतै नभएको डिजाइन समूह, प्रक्रिया र संस्कृति निर्माण गर्न गरेका कामप्रति गौरवान्वित छु।”

उनले खोल्न लागेको लभफ्रमका बारेमा धेरै जानकारी बाहिर आएका छैनन् तर समाचारहरूमा यो घडी जस्ता शरीरमा लगाउन मिल्ने प्रविधिमा केन्द्रित हुने जनाइएका छन्।

आइभका एपलका साथी र सहयोगी मार्क न्युसनले पनि लभफ्रममा काम गर्ने बताइएको छ।

आईफोन
आईफोन इतिहासमै सबैभन्दा बढी नाफा कमाएको वस्तु हो
उनी सन् १९९६ मा एपलको आर्थिक अवस्था कमजोर भएको बेला डिजाइन स्टुडियोका प्रमुख भएका थिए।

एपलको आर्थिक अवस्थामा सुधार सन् १९९८ मा आईम्याक र सन् २००१ मा आईपोडको निर्माणपछि भयो।

उनकै नेतृत्वमा एपलका अन्य उत्पादनहरू निर्माण भए:

सन् २००४ – आईपोड मिनी
सन् २००७ – आईफोन
सन् २००८ – म्याकबुक एअर
सन् २०१० – आईप्याड
सन् २०१५ – एपल वाच
सन् २०१६ – एअरपोड
एपलका संस्थापक स्टिभ जब्सले एक पटक भनेका थिए, “एपलमा मेरो कोही आध्यात्मिक साझेदार छ भने त्यो जोनी हो।”

सर आइभले हालै गरेका काममध्येको एक एपलको नयाँ मुख्यालय एपल पार्क थियो।

एपल वाच
एपल वाच सन् २०१५ मा सार्वजनिक भएको हो
सन् २०१२ मा सरको उपाधि पाएका आइभको स्थानमा एपलमा तुरुन्तै कोही नियुक्त हुनेछैन।

उनले सन् २०१२ देखि एपलको हार्डवेयर र सफ्टवेयर दुवैको डिजाइनको नेतृत्व गरेका थिए।

एपलले बिहीवार जनाए अनुसार उनले हेरेको काम दुई जनाले बाँडेर हेर्नेछन्।

Share Now

Leave a comment.