काठमाडौं, २५ कार्तिक । विश्वभरका अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुने भएको छ ।
विश्वका विभिन्न देशका झण्डै १ सय ५० जना अवैतनिक वाणिज्य दूतहरुको सहाभागिता रहने यो सम्मेलनको साझा समृद्धिको लागि ऐक्यवद्धता( सोलिडायरिटी फर सेयर्ड प्रस्परिटी)को मूल विषयमा केन्द्रित रहने यो सम्मेलनमा लैंगिक समानता, जलवायु परिवर्तन र पग्लदा हिमनदीहरु तथा आबद्धता र समृद्धि जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिनेछ ।

सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजक समितिका तर्फबाट नेपालकालागि अवैतनिक वाणिज्यदूतहरुको संस्था(अनररी काउन्सिलर कर्पस् अफ नेपाल, एचसीसीले पत्रकार सम्मेलन गर्दै यो सम्मेलनले नेपालको पर्यटनको विकास र औद्योगिक लगानीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
सम्मेलनमा एचसीसीका डिन तथा उद्योगपति प्रदीपकुमार श्रेष्ठले यो सम्मेलनको आयोजनाले नेपाल भ्रमण बर्षमा २० लाख पर्यटन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै भन्नुभयो, अवैतनिक महावाणिज्यदुतहरु देशका लागि सद्भावना दूत जस्तो मानिन्छ । नेपालमा हुने यस महत्वपूर्ण सम्मेलनका सहभागीहरुले नेपालको सुन्दरता,यहाँको पर्यटकीय सम्पदा, औद्योगिक र व्यापारिक अवस्थाको बारेमा यथार्य अवस्था आफ्नो मुलुकमा पुर्याउने भएकोले यसले निकै सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा विश्व अवैतनिक वाणिज्य दूतहरुको महासंघका अध्यक्ष डा. अक्युट इकेनले सन १९६२ मा स्थापना भएको यो संस्थाले संयुक्त राष्ट्र संघका लागि सदस्यको हैसियतले काम गर्ने र यूरोपीयन यूनियन तथा अमेरिकाका राज्यहरुमा गैरसरकारी संस्थाको हैसियतमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले सम्मेलनको अवधिमा समान उद्देश्य भएका गैरसरकारी संस्थाहरु र विश्वविद्यालयहरुसग आपसी सहयोगको संझौता गर्ने पनि बताउनुभयो ।
सम्मेलनमा नेपालका अवैतनिक वाणिज्य दूतहरुको संस्था एचसीसीएनका संस्थापक गजेन्द्र श्रेष्ठले सम्मेलनको बारेमा प्रकाश पार्नुभएको थियो भने निवर्तमान डीन आड. छिरिड.शेर्पाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पहिले श्रीलंकामा तय गरिएको यो बैठक करिब ६ महिना पहिले उसले आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजना गर्ने अवसर पाएको हो ।
काठमाडौंको होटल सोल्टीमा आयोजना हुने सम्मेलनको उद्घाटन उपराष्ट्पति नन्दकिशोर पुनले गर्ने कार्यक्रम रहेको छ ।



















