खलङ्गा (दार्चुला), ५ फागुन । भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्कनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितको एक टोली कालापानीको आकाश नपुगी छाङ्गरुको आकाशबाटै फर्किएको छ ।
आइतबार दार्चुलाको खलंगा पुग्नुभएका उपप्रधान मन्त्री पोखरेल सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको निरीक्षणका लागि भनेर निस्कनुभएको थियो ।
नेपाल र भारतबीचको विवादित सीमाको स्थलगत अवलोकन गर्न कालापानी पुग्ने बताउँदै निस्किनुभएका उपप्रधान मन्त्री पोखरेल नेतृत्वको टोली मौसमको खराबी देखाउदै करिब १७ किलोमिटर वरबाटै छाङ्गरुकै आकाशबाटै फर्किएको हो ।
उपप्रधान तथा रक्षा मन्त्री पोखरेलको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहोरा तथा मानबहादुर धामीसहित १० जना रहेका थिए ।
भारतले सबैभन्दा पछिल्लोपटक आधिकारिक रुपमा सार्वजनिक आफ्नो नक्सामा पनि नेपालको दावी रहदै आएको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।
सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्रका गएको टोली बिहान ९ बजे फर्केको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले जानकारी दिनुभएको छ ।
दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल आइतबार दार्चुला आउनुभएको थियो ।
व्यासको तिङ्कर क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्न तथा सीमाको अवस्थाबारे अध्ययनरअवलोकन गर्न उनको टोली सो क्षेत्रतर्फ बिहान प्रस्थान गरेको थियो ।