काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपीशर्माको मृगौला प्रत्यारोपण र स्वास्थ्योपचारमा संलग्न चिकित्सकहरुले उहाँलाई सामान्य अवस्थामा फर्कन ६ महिनादेखि बर्षदिनको समय लाग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्योपचारको र अहिलेको स्वास्थ्यस्थितिको जानकारी दिन आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरुले सो भनाई राखेका हुन् ।
पत्रकार सम्मेलनमा ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताउनु भयो ।
सञ्चारकर्मीहरुसँग त्रिवि शिक्षण अस्पतालमा कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको उल्लेख गर्दै भन्नुभयो, ‘यद्यपी हामी कनफर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज गर्दैनौं । ’ उहाँले अबको २ । ३ दिनमा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न सकिने सभावना बारेमा पनि उहाँले उल्लेख गर्नुभयो ।

अहिले नै ओलीलाई डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, सामान्य मानिसको जस्तो अवस्थामा फर्कन भने प्रधानमन्त्रीज्यूलाई ६ महिनादेखि १ वर्षसम्म लाग्न सक्छ।
गत बुधबार मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा विगत ६ दिनमा अपेक्षाकृत सुधार आइरहेको संलग्न चिकित्सकहरुको दावी रहेको छ । चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको खानपिन नियमित हुन थालेको छ।
मिर्गौला प्रत्यारोपणका समयमा सबै कानुनी प्रक्रिया पूरा गरेर नै मृगौला प्रत्यारोपण गरिएको पनि निजी चिकित्सक डा. शाहले दावी गर्नुभएको छ ।
‘अरूको प्रत्यारोपण गर्दा जे प्रक्रिया अपनाइन्छ, प्रधानमन्त्रीकोमा पनि ती सबै प्रक्रिया अपनाइएको छ,’ शाहले भन्नुभयो,‘सबै कुराको भिडिओ रेकर्ड राखिएको छ। प्रधानमन्त्रीलाई अरू तीन(चार जनाले पनि मिर्गौला दिन खोजेका थिए तर समीक्षाजीको धेरै मिलेकाले उहाँले दान गर्नुभएको हो।’

मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीले मिर्गौला दान दिने व्यक्तिको जीवन पनि अरू सामान्य मानिसको जस्तै हुने बताउनुभयो।
‘संसारभर नै मिर्गौला दान गरेका मानिस अरूजस्तै सामान्य तरिकाले बाँच्न सक्छन्। फरक यत्ति हो कि बेलाबेलामा जाँच गरिरहनुपर्छ,’ ज्ञवालीले भन्नुभयो।
डाक्टर जेपी अग्रवालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएपछि शिक्षण अस्पताललाई अवसर र चुनौती दुवै थपिएको बताउनुभयो
‘अब जनताले हामीलाई धेरै भरोसा गर्नेछन् र उपचार गर्न आउनेहरू पनि बढ्नेछन्। हामीलाई स्रोतसाधनसम्पन्न बनाउन सरकारले पहल गर्ने छ भन्ने आशा छ,’ डा.अग्रवालले भन्नुभयो।


















