Prakash Adhikari April 8, 2020

काठमाडौं, २६ चैत्र (रासस) । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब २ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म कोषमा १ अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ जम्मा भएको हो।

उहाँका अनुसार मङ्गलबार मात्र कोषमा १ करोड ८० लाख ५३ हजार ४ सय २७ रुपैयाँ जम्मा भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले एक करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपालले ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले ६ लाख ३५ हजार ४ सय ४०, बुडिनन्द नगरपालिकाले २ लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले २ लाख ६२ हजार ९ सय ९४, नेपाल लेखापढी कानून व्यवसायीले दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट १ लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट एक लाख ४६ हजार ३ सय १६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक लाख १९ हजार ४ सय ९८ रुपैयाँ सहयोग प्राप्त भएको छ।

यसैगरी कोषमा नाम नामेसी नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्तिरसंस्थाबाट ११ लाख ६९ हजार ५ सय ७५ रुपैयाँ सङ्कलन भएको छ।

कोषमा गत सोमबारसम्म एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६ सय २० रुपैयाँ सङ्कलन भएको थियो। सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुन थालेको हो ।

Share Now

Leave a comment.