लण्डन(संयुक्त अधिराज्य), २४ बैशाख(बीबीसी) । यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
कोरोनाको संक्रमणबाट बेलायतमा २९ हजार ४ सय २७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ‘ठूलो विपद्’ भन्नुभएको छ।
यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ।
इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्।
गति
बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ।
तर यो तुलनामा त्रुटि पनि रहेको उहाँको तर्क छ किनकि यूकेको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ।
हरेक देशमा परीक्षणको दर फरक छ, आजको मितिसम्म इटलीमा यूकेमा भन्दाबढी सङ्ख्यामा परीक्षणहरू भइरहेका छन्।
कोरोना भाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री राबले देशमा २९ हजार ४ सय २७ जना व्यक्तिले ज्यान गुमाएको बताउनुभयो।
‘यो स्तरमा‘यसरी देशले ठूलो विपद् कहिल्यै नदेखेको ‘उहाँको भनाइ थियो।
अहिल्यै अन्तर्राष्ट्रिय रूपमा तुलना गर्न नहुने उल्लेख गर्दै राबले भन्नुभयो, ‘कुन देशले कस्तो गरिरहेको छ भन्नेबारे महामारी सकेपछि मात्रै हामीले वास्तविक नतिजा पाउन सक्छौँ र खासगरी मृत्युका सबै कारणबारे अन्तर्राष्ट्रिय तथ्याङ्क नपाएसम्म भन्न सकिँदैन।’
क्याम्ब्रिज विश्वविद्यालयस्थित प्राध्यापक डेभिड स्पिगलहाल्टर कुनै पनि देशले महामारीलाई लिएर राम्रो नगरेको दाबी गर्नुहुन्छ।
स्थिति
प्राध्यापक स्पिगल हाल्टर भन्नुहुन्छ, ‘हामीले यो कुरा भन्न सक्छौँ कि यी कुनै पनि देशले राम्ररी गरिरहेका छैनन्, तर क्रम सङ्ख्याका आधारमा देशहरूलाई राख्नुको कुनै अर्थ छैन।’
बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिगल भन्नुहुन्छ, ‘यो बुद्धिमत्ताको क्षण हो। इटली युरोपको पहिलो हिस्सा थियो जहाँ तीव्र गतिमा सङ्क्रमण फैलियो र बिरामीले अस्पताल भरिए जसले स्तब्ध र विश्वास गर्नै नसक्ने बनायो।’
तर सङ्ख्याको व्याख्या कसरी गर्ने भन्नेबारे हामी सचेत हुनुपर्छ। दुवै देशले अस्पताल र समुदायमा भएका मृत्युलाई गणना गरेका छन्।
पहिलो कुरा यूकेको जनसङ्ख्या इटलीको भन्दा केही बढी छ। जनसङ्ख्याका आधारमा तपाईँ मृतकको सङ्ख्या गणना गर्नुहुन्छ भने इटली अझै नराम्रो स्थितिमा छ।
परीक्षणका आधारमा सङ्क्रमित सङ्ख्या गणना भएका हुन् र परीक्षणको दर चाहिँ फरक छन्।
क्षेत्रगत हिसाबले हेर्दा पनि अवस्था फरक देखिन्छ। इटलीमा भएकामध्ये आधा मृत्युका घटना लोम्बार्डीमा भएको छ।
तर यूकेमा अझ बढी क्षेत्रमा फैलिएको देखिन्छ। पाँचमध्ये एउटाभन्दा पनि कम घटना लन्डनमा भएको छ जहाँको जनसङ्ख्या लोम्बार्डीको जस्तै छ।


















