काठमाडौं,२३ वैशाख । देशभर लागू भएको लकडाउन केही क्षेत्र बाहेक खुकुलो हुने आशा लिएकाहरुलाई मंगलबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले निराश पारेको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओली समेत सहभागी भएको उच्चस्तरीय समितिको बैठकले बैठकमा स्वास्थ्य मन्त्रालयका तर्फबाट नेपालका ७७ जिल्लालाई जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर, प्रधानमन्त्री ओलीले भारतको स्थिति नहेरीकन नेपालमा लकडाउन खुकुलो बनाउन पनि नहुने बताउदै लकडाउन बढाउने इच्छा देखाउनु भयो ।
प्रधानमन्त्री ओलीले ‘एउटा भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पर्ने र नेपालमा कोरोना परीक्षणको दर पनि कम भएको भन्दै लकडाउन बढाउन सक्ने संकेत दिनुभएको थियो ।
प्रधानमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार यससम्बन्धी प्रस्ताव बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री कार्यालयले तयार पारेका प्रस्ताव पेश हुनेछ र सोही अनुरुप निर्णय हुनेछ ।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले अहिले सरकारले लिएको नीति सही भएको बताउदै यो निरन्तर रहने बताउनुभएको छ ।


















