Prakash Adhikari May 11, 2020

सानेपा(ललितपुर),२९ बैशाख । नेपाली कांग्रेसको केन्द्रिय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भिडियो कन्फ्रेसबाट प्रदेश र तहगत रुपमा जिल्ला तथा क्षेत्र समेतमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय वी.पी.नगर,सानेपा, ललितपुरमा बसेको बैठकले प्रतिष्ठानका हरेक संरचनालाई भिडियो कन्फ्रेस मार्फत् जोड्ने निष्कर्ष निकालेको छ ।

बैठकले कोरोना भाइरसको विश्वमहामारी आरम्भ हुनुपूर्व गरिएको प्रशिक्षण शैलीले लकडाउन र यस पछिका केही समय काम गर्न असंभव भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

सोमबारको बैठकले तयारी अवस्थामा रहेको आधार पाठ्यक्रमलाई चाँडै प्रकाशन गर्नु पर्ने, कोरोनाले पारेका आर्थिक, सामाजिक तथा समाज मनोविज्ञानका विषयमा समेत विमर्श गर्नुपर्ने हुनाले चांडै नै भिडियो कन्फ्रेन्समार्फत बैठक गर्ने निर्णय समेत गरेको छ ।

वैठकमा ई. दीपेश विष्टले सूचना प्रविधिको उपयोगका विषयमा सदस्यहरुलाई जानकारी दिनुभएको थियो । विष्टकै प्राविधिक संयोजनमा केही दिन पहिले परीक्षणका रुपमा प्रतिष्ठानले भिडियो कन्फ्रेन्स समेत गरेको थियो ।

प्रतिष्ठानले यसअघि गण्डकी, ५ नं. प्रदेश, कर्णाली र वाग्मती प्रदेशमा गरी महाधिवेशन प्रतिनिधिहरुकालागि ५ वटा प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो ।

बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा। पुरुषोत्तम दाहालले प्रशिक्षणका लागि प्रतिष्ठानले तत्काल गर्नु पर्ने विषयहरुको जानकारी गराउनु भएको थियो ।

कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गरी भएको बैठकको प्रारम्भमा प्रतिष्ठानका प्रमुख तथा केन्द्रीय उपसभापति निधिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारी पहल भन्दा पनि पहिला नेपाली कांग्रेसले जनस्तरमा सचेतना फैलाएको स्पष्ट गर्नु भयो ।

निधिले भन्नुभयो— कोरोना भाइरस नियन्त्रणको प्रयासमा जिम्मेवार प्रतिपक्षका नाताले उसका कमिकमजोरीमा निरन्तर खबरदारी गर्दै राष्ट्रिय संकटको घडीमा सरकारले अबलम्बन गर्ने कार्यक्रमलाई पार्टीले समर्थन गरेको बताउनुभयो ।

उपसभापति निधिले केन्द्रदेखि वडा तहसम्म पार्टी संयन्त्र परिचालन गरेर स्वास्थ्य सचेतना तथा राहत बितरणको कामलाई निरन्तरता दिइएको हुनाले आगामी दिनमा समेत यस कार्यलाई प्रतिष्ठानका तर्फबाट समेत सहयोग गरिने बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरस, लिपुलेक, सिंहदरवार सामु चिनिया नागरिकहरुबाट भएको घटना लगायतका राष्ट्रिय मुद्दा संम्बोधन गर्ने सबालमा सरकार चुकेको भन्दै जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले ती मुद्दामा निरन्तर खबरदारी गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले समेत यस्ता गम्भीर मुद्दाहरुको अध्ययन तथा विश्लेषण गरी उचित सुझाव दिनु पर्दछ । भोलिका दिनमा यस्ता मुद्दामा कसको कस्तो भूमिका रह्यो भन्ने कुरा जनताले मूल्यांकन गर्नेछन् ।’

बैठकमा प्रतिष्ठानका सदस्यहरु— मनोहरनारायण श्रेष्ठ, रञ्जित कर्ण, डा. जगदीशचन्द्र पोखरेल, खिलानाथ दाहाल, हरिहर विरही, तारानाथ दाहाल, डा.प्रभु बुढाथोकी, राजकुमार नकर्मी, राजु नेपाल, प्रमोदहरि गुरागाइँ, मोतिराज वम, भद्रा भण्डारी, नानु वाँस्तोला, प्रसिस महरा, योगराज कँडेल, लालबहादुर पुन, रामजी कंग्रेन र आमन्त्रित रामजी दाहालले समसामयिक विषयमाथि आ–आफ्नो विचार प्रकट गर्नुभएको थियो ।

Share Now

Leave a comment.