काठमाडौं, ३० वैशाख । संघीय संसदको प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ ।
हआइतबार र सोमबार बसेको समितिको बैठकले नेपाली भूमि अतिक्रमण गरेर बसेको भारतीय सेनालाई हटाएर सो स्थानमा नेपालको प्रशासनिक र सुरक्षा उपस्थिति गराउन निर्देशन दिएको हो ।

समितिले दिएको निर्देशनमा भनिएको छ,‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानीलगायत क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्चतहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’
समितिले भारतले तावाघाटदेखि दार्चुला जिल्लाको लिपुलेकसम्म सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुन र दुई देशबीच विद्यमान सम्झौता र सहमति तथा असल छिमेकसम्बन्धी मान्यता र नीति विपरीत रहेको ठहर गरेको छ ।


















