नयाँदिल्ली(भारत), ४ आषाढ(बीबीसी) । भारत र चीनका सीमा रक्षक सेनाका बीच सोमवार लद्दाखको गलवान उपत्यकामा ज्यान लिने गरी भिडन्त भयो तर यो भिडन्तको अचम्म लाग्दो पक्ष बाहिर आएको छ कि भिडन्तमा दुवै सेनाका बीचमा अत्याधुनिक हतियार प्रयोग नगर्ने सहमति अनुरुप डण्डीमा चुच्चा किला जडिएको कच्चा हतियार प्रयोग गरियो ।
मान्छे मार्न पाइने तर आधुनिक हतियार प्रयोग नगर्ने कस्तो मित्रता र शत्रुताको सम्बन्धमा छन् भारत र चीन ।
चीन र भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।

गलवान उपत्यकामा भएको उक्त भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो।
उक्त भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अतिक्रमण गरेको आरोप लगाएका छन्।
त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अङ्कन गरिएको छैन र स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ।
बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार देख्न सकिन्छ।
उक्त तस्बिर बीबीसीलाई भारत(चीन सीमामा तैनाथ भारतीय सेनाका एकजना वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती हतियार चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।
सामाजिक सञ्जालमा तस्बिर
उक्त तस्बिरलाई सर्वप्रथम इन्टरनेटको सामाजिक सञ्जाल ट्विटरमा राखेका एकजना प्रतिरक्षा विश्लेषक अजय शुक्लाले त्यस्तो प्रकारको हतियारको प्रयोगलाई ‘बर्बर’भन्नुभएको छ।

त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।
भारतमा ट्विटरमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरिरहेका छन्।
त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।
समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।

बुधवार लद्दाखतिर जाँदै भारतीय सेनाका गाडीहरू
सन् १९९६ को सहमतिअनुसार ‘लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्‘‘विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्।’
तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा तनावपूर्ण भिडन्तहरू भएका छन्।
मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।
यसले प्रश्न उठाएको छ, जब दुवैतिरका सीमा रक्षक सेना सो सहमतिको अक्षरस: पालना गरिरहेछन् भने दुवै मुलुककाबीच दुवै मुलुकमा सेना लाइनअफ एक्चुअल कन्ट्रोलको पालना गर्दछन र अन्जानमा सीमा पार भएमा सकुशल कब्जामा लिइ सम्बन्धित राष्ट्रलाई बुझाउने छन् भन्ने प्रावधान राखेमा पूरै सीमामा कुनै द्धन्द्ध नै उत्पन्न हुनेछैन् । अत्याधुनिक हातहतियारमा भएको दुवै राष्ट्रको ठूलो लगानी आम जनताको हकहित र जीवनस्तर अभिबृद्धिमा उपयोग हुन सक्दैन र ?


















