Prakash Adhikari August 25, 2020

काठमाडौं, ९ भदौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार पाँचौै चरण अन्तरगत मंगलबारदेखि दैनिक ५ सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो।

नयाँ तालिकाअनुसार आज यूएईको शारजहाँबाटबाट एयर अरेबियाले दुई उडान गर्नेछ। पहिलो उडान ३ : ०२ मा अवतरण भैसकेको छ भने दोस्रो उडान ४ः५० मा अवतरण गर्ने कार्यक्रम छ ।

Airlines That Operate Wide Body Planes To Kathmandu, Nepal!

यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ ।११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्धार उडान गर्नेछन्।

टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन्। यसअघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए। अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ।

यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछ। त्यसैगरी भदौ १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट उडान गर्ने निश्चित भएको छ। यस्तै १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्नेछन् भने १५ गते नेपालले दुबई र हिमालयनले आबुधाबीबाट उडान गर्ने तालिका सार्वजानिक भएको छ।

यससँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरिएको छ।

उद्धार उडानका लागि यात्रुहरूले पीसीआर रिपोर्ट ल्याउनुपर्ने, पीसीआर टेस्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ।

पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरू जस्तै– साउदी अरब, कुवेत, कतारलगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने व्यवस्था गरिएको छ।

त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान हुनेछन्।

Share Now

Leave a comment.