काठमाडौ, ३० भाद्र । पूर्व अर्थ मन्त्री डा. युवराज खतिवडालाई सरकारले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ।
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्री सरह सेवा सुविधा दिनेगरि सल्लाहकार नियुक्त गरिएको जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई लैजाने संभावना शून्य भएपछि डा.खतिवडाले भाद्र १९ गते अर्थमन्त्रीको पदबाट राजिनामा दिनुभएको थियो । प्रधानमन्त्री ओली आफ्ना अति भरपर्दो विश्वासपात्र डा. खतिवडालाई राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिने एक रिक्त सीटमा लगेर उहाँलाई अर्थमन्त्रीको पदमा निरन्तरता दिन चाहानुुहुन्थ्यो । तर गत बैशाखदेखि पार्टीमा उहाँविरुद्ध भएको मोर्चाबन्दीमा आफ्ना सबै अडान छाडेर बामदेव गौतमले काँध थापेर उहाँलाई अभयदान दिनुभयो ।
पार्टी सचिवालयले १३ फागुनमा गरेको निर्णय अनुसार राष्ट्रिय सभाको रिक्त पदमा आफू जान पाउनुपर्ने गौतमको दावी रहेपछि प्रधानमन्त्री ओलीले १८ भाद्रमा बसेको सचिवालय बैठकमा राष्ट्रिय सभाको रिक्त पदमा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई सिफारीस गर्ने सरकारलाई निर्देशन दिने प्रस्ताव राख्नुभयो ।
संविधानले संघीय संसदको सदस्य नरहेको व्यक्ति मन्त्रि नियुक्त भएर उसले ६ महिनाभित्र कुनै सदनको बन्न नसकेमा सो प्रतिनिधिसभाको कार्यकालभरि ऊ मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ । डा.खतिवडाको सरकारमा जाने ढोका यो प्रतिनिधिसभाकोक कार्यकालमा समाप्त भएकोले प्रधानमन्त्रीले उहाँको विज्ञताको सदुपयोग गर्न आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको हो ।
डा. खतिवडालाई मन्त्री सरह सुविधा दिने गरि सल्लाहकार नियुक्त गरिएको छ ।
अर्थमन्त्रीबाट बाहिरिएपनि डा.खतिवडाले अझ सशक्त भूमिका पाउने संकेत प्रधानमन्त्री ओलीले पहिल्यै दिइसक्नुभएको थियो ।खतिवडाले राजीनामा दिएको पर्सीपल्ट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले डा.खतिवडाको भूमिका अझै फराकिलो भएको बताउनुभएको थियो।
डा.खतिवडाले राजीनामा अर्थमन्त्री पदबाट राजिनामा दिएपछि अर्थ मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री ओलीले सम्हालिरहनुभएको छ । अहिले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे कार्यरत हुनुहुन्छ।


















