दुबाई।शारजहाँ(संयुक्त अरब इमिरेट्स), कार्तिक १६ । भारतको चर्चित टी २० प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिगको १३ औं संस्करण अन्तरगत शनिवार सम्पन्न ५१र ५२ औं खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद विजयी भएका छन् । मुम्बईले दिल्लीलाई पराजित गरेको हो भने हैदराबादले बैंगलोरलाई ।
शनिवार सम्पन्न शारजाह स्टेडियममा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदरावादले ५ विकेट गुमाएर १४.१ ओभरमै पूरा गरेर प्लेअफ सम्भावना बढाएको छ।
हैदरावादको लागि ओपनर रिद्दिमान शाहले सर्वाधिक ३९ रन मनिष पाण्डे र जेसन होल्डरले समान २६ ।२६ रन तथा अभिषेक शर्मा, डेभिड वार्नर र केन विलियमसनले समान ८ ।८ रन बनाएका थिए।
हैदरावादलाई रोक्ने क्रममा बैंगलोरको बलिंगमा युजभेन्द्र चहलले सर्वाधिक २ विकेट तथा वासिंगटन सुन्दर, इसुरु उदाना र नभदीप सैनीले समान १।१ विकेट लिएका थिए।
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो।
बैंगलोरको लागि जोश फिलिप्पेले सर्वाधिक ३२, एबि डी भिल्लीयर्सले २४, वासिंगटन सुन्दरले २१ तथा गुरकिरत मान सिंहले अविजित १५ रन बनाए। बिराट कोहलीले ७, देभदत्त पडीक्कलले ५ , क्रिश मोरिसले ३ र मोहम्मद सिराजले २ रन मात्र बनाए।
बैंगलोरलाई रोक्ने क्रममा हैदरावादका सन्दीप शर्मा र जेसन होल्डरले २ । २ तथा टी नटराजन , शाहबाज नदिम र राशिद खानले एक एक विकेट लिएका थिए ।
मुम्बईसंग दिल्ली ९ विकेटले पराजित
शनिवार सम्पन्न पहिलो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरी पहिलो क्वालिफायरमा आफूलाई उतारेको छ ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाएर १४.२ ओभरमा भेटायो।
मुम्बईको लागि इशान किशनले सर्वाधिक ७२, क्विन्टन डी ककले २६ तथा सूर्यकुमार यादवले १२ रन बनाएका थिए ।
मुम्बईको आँधी रोक्न दिल्लीका बलरहरु असफल रहे ।दिल्लीका बलिंगमा एनरिक नोर्कियाले १ मात्र विकेट लिएका थिए।
यस पहिले टस हारेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्र बनाएको थियो।
दिल्लीको लागि कप्तान श्रेयस ऐयरले २५, रिशभ पन्तले २१, रभीचन्द्रन आश्विन र कागीसो रबाडाले समान १२, शिमरन हेटमायरले ११, पृथ्वी शाँले १० रन बनाउनु प्रवीण दुर्व ७, हर्षल पटेल ५ र मार्कस स्टोइनिसले २ रन बनाएका थिए ।
दिल्लीलाई रोक्ने क्रममा मुम्बईको बलिंगमा जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३ । ३ तथा राहुल चाहर र नाथन कौल्टर नाइलले समान एक एक विकेट लिएका थिए ।
अंकतालिका र आगामी खेल
शनिवारको खेलपछि हैदराबाद १३ खेलमा छैठौं जित हासिल गर्दै १२ अंकका साथ अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। समान १२ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै पञ्जाब पाँचौ, राजस्थान छैठौं र कोलकाता सातौँ स्थानमा रहेका छन्। हार पछि बैंगलोर १३ खेलमा १४ अंकका साथ दोश्रो स्थानमा यथावत रहेको छ।
हैदरावाद प्लेअफ पुग्न अब अन्तिम खेलमा मुम्बईलाई पराजित गर्नुपर्नेछ। नेट रन रेट राम्रो रहेकाले १४ अंक भएको अवस्थामा अन्य टिमले अंक बराबरी गरेता पनि हैदरावादले जित्ने सम्भावना प्रवल छ। हैदरावाद मुम्बईसंग पराजित भएमा भने प्लेअफ पुग्ने सम्भावना सकिन्छ।
बैंगलोर प्ले अफ पुग्नको लागि पनि अन्तिम खेलमा जित आवश्यक रहेको छ। बैंगलोरले अन्तिम खेल दिल्लीसंग खेल्नेछ जुन खेलमा बैंगलोर पराजित भएको खण्डमा अन्य टिमको नतिजाको आधारमा अघि बढ्ने नबढ्ने थाहा हुनेछ।
हालसम्म मुम्बई १८ अंक बटुल्दै प्ले अफ तथा शीर्ष २ मा स्थान पक्का गरिसकेको छ भने चेन्नाई प्लेअफ पुग्न असफल भैसकेको छ।
दिल्लीले भने पछिल्ला चार खेलमा लगातार हार व्यहोरेको छ। यस अघिका खेलमा हैदरावाद, कोलकाता र पञ्जाबसंग दिल्ली पराजित भएको थियो। हार पछि पनि दिल्लीको प्लेअफ सम्भावना कायमै रहेको छ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल मंगलबार मुम्बई इण्डियन्स बिरुद्ध तथा बैंगलोरले सोमबार दिल्ली बिरुद्ध खेल्नेछ।
आइतबार पनि २ खेल हुनेछन्। ३ः४५ बजे दिउसोको खेलमा पञ्जाब र चेन्नाई तथा ७ ः ४५ बजे राति कोलकाता र राजस्थान बीच प्रतिस्पर्धा हुनेछ।