सिराहा, १६ कार्तिक । बोक्सी आरोपमा छोराको कुटपिटबाट गम्भीर घाइते हुनुभएकी सिराहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवी साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको छ।
शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई सिरहा अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा साँझ सुदामादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिनुभयो।
गएको बुधबार सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै आफ्नै कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडी निर्घात कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेको थाहा पाएर गाउँलेले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेकोले दिसा खुउने प्रयास असफल भएको थियो । तर त्यतिबेलासम्म बृद्ध सुदामादेवीको शरीर छोराको निर्घात कुटाइबाट थिलोथिलो भैसकेको थियो ।
छोराले घाँटी थिचेर कुटपिट गरेपछि गम्भीर बिरामी पर्नुभएकी सुदामादेवीलाई सोहिदिन जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
दुईदिनको उपचार पश्चात उहाँलाई घर फर्काइएको थियो।
छोराकी पत्नी बुहारी मनीषाको खुट्टामा घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै दिसा पिसाब खुवाउने दुस्प्रयास गरेको गाँउलेहरुले बताएका थिए।
घटना लगतै फरार भएका राऔतारलाई दुईदिनपछि गएको शुक्रबार दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका रामऔतारमाथि हत्या अभियोगमा कारबाही प्रक्रिया अघि बढाएको सिरहा प्रहरीले जनाएको छ।