Prakash Adhikari July 27, 2021

काठमाडौं, १२ साउन। नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकारले आज गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटघाट पछि गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर नेपाली कांग्रेसका पृथ्वीमानसिंह गुरुङलाई बनाउने तथा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने सहमति भएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकबाट दुवै प्रदेश प्रमुखको नाम सिफारिस हुने बताइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

नेता द्धयका बीचमा  प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजलाई पनि विस्थापित गर्ने सहमति भएपनि आधिकारिक जनता समाजवादी पार्टी उपेन्द्र यादव सरकारमा समाहित हुन बाँकी रहेकोले उहाँलाई आजको मन्त्रिपरिषद्ले विस्थापित गर्ने छैन ।

प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।

त्यस्तै गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यसलाई तात्कालिन प्रदेश सरकार अनुकूल बनाउन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त गरिएको थियो । प्रदेश प्रमुख परिवर्तन पछि अविश्वासको प्रस्ताव सामना नगरिकन तात्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड.ले राजिनामा दिएर सबैभन्दा ठूलो दलको हैसियतमा सरकार त बनाउनुभयो तर सो सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि कुर्सी छोड्न बाध्य हुनभयो र त्यहाँ गठबन्धन सरकार स्थापित हुन गयो ।

लुम्बिनी प्रदेशमा भने यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।

नेकपा एमालेप्रति वफादार प्रदेश प्रमुख भएकोले लुम्बिनीमा आएको अविश्वासको प्रस्तावको सामना नगरी राजिनामा दिनुभएका मुख्यमन्त्री पोखरेललाई पछि उहाँको पक्षमा बहुमत नरहेकै अवस्थामा मुख्यमन्त्रीको बैठकमा गएर शपथ गराउनुभएको आरोप उहाँमाथि लागेको छ ।

संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नेकपा माओवादी केन्द्रसंगको चुनावी तालमेलका आधारमा  त्यतिबेलाका सातैजना प्रदेश प्रमुख फेरेर नेकपा एमाले र माओवादी समर्थक प्रदेश प्रमुखहरु नियुक्त गरिनुभएको थियो।

 

Share Now

Leave a comment.