Prakash Adhikari March 5, 2018

धुम्बराही(काठमाडौं), २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई असफल हुन नदिने बताएका छन् ।

४५औं सुखानी शहीदको सम्झनामा एमाले पार्टी कार्यालय धुम्बाराहीमा गरिएको गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘अब देशमा वामपन्थीको सरकार बन्यो त्यो सुन्ने बानी बसाल्नुहोस्’ ओलीले भने, ‘हामी असफल भए देश असफल हुन्छ, हामी देशलाई असफल हुन दिदैनौं।’

प्रधानमन्त्री ओलीले एमाले एकताको बाधक नभइ यसको अभियन्ता जिकिर गरे। फरक प्रसंगमा उनले भने ‘नेपाल अब इगभरमेन्स हुन्छ, आइटीमय हुन्छ। यसमा कसैले भ्रम नपाले हुन्छ।’

‘एमाले र माओवादीलाई मिल्न दिन नपाए, भाँजो हाल्न पाए र आशंका फैलाउन पाए गरिखान पाइन्थ्यो कि भन्नेहरु लागिरहेका छन्, तर त्यो सपना पूरा हुँदैन’ उनले भने, ‘त्यो अपेक्षा सपनामा खाएको चकलेट मात्र हो, ब्यूझँदा गुलियो होइन टर्रो हुन्छ।’

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री आोलीले एमाले अरुले थापेको साँचोमा पर्ने मुसा नभएको बताउँदै पार्टी एकता भएरै छाड्ने दाबी समेत गरे।

०२९ फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बहानामा इलामको सुखानी जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको सरकारी षड्यन्त्रमा हत्या भएको थियो।

Share Now

Leave a comment.