सुनेथ पेरेरा । बीबीसी न्यूज
कोलम्बो(श्रीलंका), २३ श्रावण । अवैध रूपमा डुङ्गा चढेर अस्ट्रेलिया पुर्याइएका श्रीलङ्काका शिवलाई आफू चढेकोभन्दा अगाडिको डुङ्गामा ज्वरो आएर र बिरामी परेर पाँच जनाको मृत्यु भएको र उनीहरूको शव समुद्रमा फालिएको कुराले अष्ट्रेलिया यात्रामा निकै चिन्तित बनाएको थियो ।
शिव चढेको डुंगामा पनि एकजना सिकिस्त बिरामी भए। डुङ्गामा कुनै औषधि थिएन। उनीहरु मध्ये केहीले मदिरा बोकेका थिए। त्यसैले मृत्युको डरबाट मुक्त हुन शिवले मदिरा पिएँ ।
घटना सन् २०१२ को हो। त्यतिबेला श्रीलङ्काको सेनाले सन् २००९ को मे महिनामा विद्रोही तमिल टाइगर्सलाई पराजित गरेको तीन वर्षपछि तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो।
“हामीले ३० वर्षसम्म दुःख भोग्यौँ। हामी गरिबीको चपेटामा पर्यौँ। म रक्सीको लतमा परेँ,ू शिवले बीबीसीलाई भन्नुभयो ूत्यतिबेलै मेरा एकजना साथीले डुङ्गामार्फत् अस्ट्रेलिया जाने प्रस्ताव अघि ल्याए।”
उत्तरी श्रीलङ्काका शिव दुई सन्तानका पिता हुनुहुन्छ ।
युद्धले दिएको चोट

शिवजस्तै उत्तरी र पूर्वी श्रीलङ्काका अधिकांश तमिलहरूले रक्तपातपूर्ण द्वन्द्वका कारण शारीरिक चोट मात्र हैन, मनोवैज्ञानिक चोट पनि भोग्नुपर्यो। उनीहरूले त्यो तनावबाट निस्किने बाटो खोजेका थिए।
ूत्यस समय धेरै मानिसहरू अवैध रूपमा डुङ्गाबाट अस्ट्रेलिया पुगेका थिए। त्यसरी पठाउने काम एकजना दलालले गरेका थिए। तिनलाई मैले मेरो साथीमार्फत् चिनेको थिएँ। पूरा यात्राको निम्ति १० लाख रुपैयाँ ९त्यतिबेला ८,००० डलरजति० मागे। यात्रा सुरु हुनुअघि आधा रकम तिर्नुपर्ने बताइएको थियो।ू शिवले बताउनुभयो ।
आफ्नी श्रीमतीको सुनका गरगहना धितो राखेर चर्को ब्याजमा ऋण लिएपछि आफू ऋणको पासोमा फसेको शिवले सुनाउनुभयो।

तस्करीको केन्द्र नेगोम्बो
पश्चिमी श्रीलङ्काको तटीय सहर नेगोम्बो मानिसको तस्करी गर्ने केन्द्र ठानिन्छ।
नेगोम्बोका स्थानीय डुङ्गा मालिक जुडले बीबीसीलाई बताएअनुसार उनले विगत तीन दशकमा सयौँ मानिसलाई अवैध रूपमा अस्ट्रेलिया र इटालीसम्म पुर्याएका छन्।
हिन्द महासागर पार गरेपछि सोझै अस्ट्रेलिया पुग्ने मार्ग छ। इटली चाहिँ ऐतिहासिक रूपमा रोजगारीका अवसरहरूका कारण चिनिन्छ। अधिकांश नेगोम्बोवासीहरू क्याथोलिक भएकाले त्यस ठाउँलाई ुलिटल रोमु पनि भनिन्छ।
“नब्बेको दशकको अन्त्यतिर मैले दुईवटा इन्जिन भएको डुङ्गामार्फत् एकैपटक १३० जनालाई इटलीसम्म पुर्याएको थिएँ”, जुडले गौरवान्वित भावमा बीबीसीसँग भन्नुभयो।
उहाँका अनुसार तस्करहरूले अस्ट्रेलियाजस्ता देशमा आप्रवासन नीति परिवर्तन भएको अफवाह फैलाएर मानिसहरूलाई अवैध रूपमा जान प्रेरित गर्थे।
“ती देशले शरणार्थी र आप्रवासीहरूसम्बन्धी प्रतिबन्ध खुकुलो पारेको सुन्नासाथ हामी त्यहाँ अवसर देख्छौँ “, उहाँले भन्नुभयो, “तत्काल डुङ्गामा खाना र पानी भण्डार गरिन्छ र त्यसमा पर्याप्त इन्धन भरिन्छ।”
संयुक्त राष्ट्रसङ्घको सन् २०२० को मानव बेचबिखनबारे विश्वव्यापी तथ्याङ्क अनुसार सन् २०१८ मा तस्करी हुनेमा ४६ प्रतिशत वयस्क महिला, १९ प्रतिशत किशोरी, २० प्रतिशत वयस्क पुरुष र १५ प्रतिशत किशोर थिए।

तथ्याङ्क
तर जुड आफू अगाडि सरेर यात्रु खोज्नुहुन्न। न त उहाँ आफूले तस्करी गर्ने मानिसहरूसँग नै यात्रा गर्नुहुन्छ।
“दलालहरूले मानिसहरू खोजेर ल्याउँछन्। हामीले यात्रा शुल्क झन्डै पाँच लाख रुपैयाँ (अहिलेको दरमा झन्डै १,४०० डलर) तोक्छौँ। पाँच लाख यात्रु खोज्ने दलालहरूले राख्छन्”, जुडले भन्न्नुभयो,”यी दलालहरूले देशभरि १० देखि १५ जनाको सानो समूह बनाएका हुन्छन्। उनीहरू प्रत्येकले ५० जनासम्म जुटाउँछन् ।”
जुडका अनुसार यस प्रक्रियामा दलालहरूले वास्तविक फाइदा गर्छन्।
“हामी जहाज चलाउने एकजना कप्तान र चालक दलका लागि चारदेखि पाँच जना सहयोगी पनि खोज्छौँ। कप्तानको नाममा डुङ्गा दर्ता गर्छौँ किनकि त्यहाँ फर्किने वा निगरानी हुने सम्भावना छैन। ती सबै किनारसम्मै पुग्छन्।”
यो यात्रु मात्र नभई चालकदलका लागि पनि एकतर्फी यात्रा हो। उनीहरू सबैले त्यहाँ शरण खोज्ने उद्देश्य राख्छन्।
राम्रो जीवनको लोभ

श्रीलङ्का जलसेनाद्वारा रोकिएका शरणार्थी बन्न चाहनेहरू
जुडका अनुसार डुङ्गामार्फत् स्वेज नहर हुँदै इटलीको जलक्षेत्रमा पुग्न झन्डै २५ देखि ३० दिन लाग्छ भने अस्ट्रेलियाको जलक्षेत्रमा पुग्न सामान्यतया १० देखि १५ दिन मात्र लाग्छ।
तर तोकिएको अवधिमा पुग्ने टुङ्गो हुँदैन।
अरू ६० जना मानिससँग डुङ्गामा चढ्नुअघि तिर्न बाँकी रकम अर्थात् झन्डै ४,००० अमेरिकी डलर मागिएको शिवले सुनाउनुभयो।
गृहयुद्ध रोकिएपछि पनि उत्तरी श्रीलङ्काका सयौँ तमिलहरूलाई जबरजस्ती बेपत्ता पारिएको थियो। त्यतिबेला थुप्रै अधिकारकर्मीहरूमाथि आक्रमण भएको थियो र केही पत्रकार मारिएका वा बेपत्ता पारिएका थिए।
सरकारले अपहरण वा बेपत्ता भएकाहरूसँगको सम्बन्धलाई नकार्दै आएको छ। सन् २००९ अघि दुवै पक्षमाथि अत्याचारको आरोप लगाइएको थियो तर तमिल टाइगर्स पराजित भएपछि पनि मानिस अपहरण हुने क्रम रोकिएन।
‘म त डुङ्गामै मरे पनि फरक पर्दैन’

“श्रीलङ्कामा युद्धपछि जुन अवस्था सिर्जना भयो त्यसले मलाई आफू डुङ्गामै मरे पनि फरक पर्दैन भन्ने लाग्यो”, शिवले भन्नुभयो।
तर केही दिन समुद्रमा बिताएपछि उहाँलाई घरमा रहेकी श्रीमती र दुई सन्तानको सम्झनाले सताउन थाल्यो।
“मैले उनीहरूको बारेमा निकै सोचेँ “, उहाँले सम्झिनुभयो।
बाइस दिनको यात्रापछि शिव र अन्य मानिस चढेको डुंगा अस्ट्रेलियाको जलक्षेत्रमा पुग्यो।
अस्ट्रेलियाको सामुद्रिक क्षेत्रमा भेटिएका शरणार्थीहरूलाई देशबाहिर नाउरु र पपुवा न्यूगिनी र हिन्द महासागरमा रहेको अस्ट्रेलियाली क्षेत्र, क्रिस्मस टापुलगायतका ठाउँमा रोकिन्छ।
शिवका अनुसार मुद्दामा सुनुवाइ नभएसम्म उहाँ गएको टोलीका मानिसलाई क्रिस्मस टापुमा हिरासतमा राखिएको थियो।
“शिविरमा महिनौँ वा वर्षौँ बिताएकाहरूले मलाई आफू अस्ट्रेलिया जान पाए पनि श्रीमती र छोराछोरीलाई ल्याउन नमिल्ने बताए। उनीहरूलाई ल्याउने थोरै सम्भावना भए पनि त्यसको लागि समय लाग्ने थाहा पाएँ “, उहाँले भन्नुभयो ।
३० दिनपछि शिव र अन्य १३ जनालाई ‘उनीहरूले शरण खोज्नुको कारण बलियो नभएको’ बताउँदै श्रीलङ्का फर्काइयो।
जुडका अनुसार उच्च लागत र शरणार्थीहरूमाथि कडा प्रतिबन्धका कारण तस्करहरूले केही वर्षयता इटलीमा मानवतस्करी ठप्प पारेका छन्।
“केही वर्ष अघिसम्म अस्ट्रेलियामा मानिस पुर्याउनु सहज थियो तर अहिले त्यो पनि निकै गाह्रो काम बनेको छ”, उहाँले भन्नुभयो।
जुडलाई कानुन भङ्ग गरेको र अप्ठ्यारोमा परेका मानिसहरूबाट फाइदा उठाएकोमा पछुतो छ कि छैन भन्ने प्रश्न गर्दा उहाँले आफ्नो अन्तरात्मा स्पष्ट भएको बताउनुभयो।
जोखिममा परेका मानिस निशानामा
“हामीलाई कुनै ग्लानिबोध छैन किनकि ती मानिसहरू आफ्नै इच्छाले डुङ्गा चढ्छन्। उनीहरूले अझै राम्रो जीवनको निम्ति जोखिम मोल्छन्”, उहाँले भन्नुभयो,”उनीहरूलाई यात्राका क्रममा भोग्नुपर्ने चुनौतीबारे पहिले नै थाहा हुन्छ। उनीहरू किनारमा पुग्छन् या कुनै हिरासत शिविरमा भन्ने कुरा डुङ्गा मालिकहरूसँग सम्बन्धित विषय होइन।”

यद्यपि कष्टकर सयात्रा गर्ने लागेका महिला र बालबालिका देखेर आफूलाई नराम्रो लाग्ने गरेको उहाँले बताउनुभयो।
“पहिले हामीसामु प्रायः पुरुषहरू आउँथे। तर अहिले धेरैभन्दा धेरै परिवारहरू बालबालिकासहित जान हामीलाई पैसा बुझाउँछन्।मानिसहरूले हेर्न चाहे जति मात्र देख्छन् ।”

श्रीलङ्काबाट अस्ट्रेलिया जान चाहने मानिसहरू डुङ्गामार्फत यात्रा गर्छन्
आफूजस्ता तस्करहरूले मानिसलाई सहयोग गर्ने उहाँको दाबी छ।
“हामीले ५० जना पठाउँदा वरपरका गाउँका केही युवालाई समेत डुङ्गामा राखिदिन्छौँ जसले यो यात्राका लागि खर्च गर्न सक्दैनन्”, उहाँले भन्नुभयो।
तर सपना पूरा गर्ने यो सजिलो बाटो भने होइन।
पछि के हुन्छ भन्ने थाहा नहुँदा र जोखिममा पर्ने परिस्थितिका कारण मानिसहरू मानवतस्करको जालोमा फस्ने जुड बताउँनुहुन्छ। किनभने ती मानिसहरू वैध बाटोबाट विदेश जान पनि सक्दैनन्।
“मानिसहरू हामीबारे अरू मानिसबाट सुन्छन्। डुङ्गा चढेर अस्ट्रेलिया गएकाहरूले धेरै पैसा कमाइरहेको सुन्छन्। तर यथार्थ त्यस्तो छैन। मानिसहरूले त्यति मात्र हेर्छन् जति उनीहरू देख्न चाहन्छन्”, उहाँले थप्नुभयो।
डुङ्गा चढेर अस्ट्रेलिया जाने प्रयास गर्ने श्रीलङ्कालीहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। श्रीलङ्काली जलसेनाले पक्राउ गरेका मानिसको सङ्ख्या। ।
सङ्ख्यामा उल्लेख्य वृद्धि
श्रीलङ्काली जलसेनाका अनुसार यस वर्ष डुङ्गा चढेर अस्ट्रेलिया पुग्न प्रयास गर्ने मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
जलसेनाका प्रवक्ता क्याप्टेन इन्दिका डी सिल्भाले सन् २०२२ को जुलाई महिनासम्ममा अवैध रूपमा अस्ट्रेलिया छिर्ने प्रयास गर्ने ८६४ जना पक्राउ परेको बीबीसीसँग बताउनुभयो। त्यसरी मानिस ओसारप्रसार गर्ने १५ वटा डुङ्गा हिरासतमा लिइएको जनाइएको छ।
चारवटा डुङ्गामा चढेर अस्ट्रेलियाको क्षेत्रमा पुगेका १३७ जनालाई विमानबाट श्रीलङ्का फर्काइएको छ।
श्रीलङ्काको जलसेनाले सन् २०२१ र २०२२ मा क्यानडा पुगेका दुईवटा डुङ्गालाई रोकिएको जानकारी दियो। क्याप्टेन डी सिल्भाले सन् २०२० मा भने कोरोनाभाइरस महामारीका कारण कुनै अवैध डुङ्गा पक्राउ नपरेको बताए।

आम मानिसको उद्धार गर्दै जलसेना
उहाँले दलालहरूले निकै गरिब र कमजोर परिवारलाई सुखद जीवनका निम्ति अस्ट्रेलियाजस्तो धनी राष्ट्र पुर्याउने झुटो आशा देखाउने बताउनुभयो।
क्याप्टेन सिल्भाका अनुसार तस्करहरूले प्रायः परिवारसहित जाँदा फाइदा हुने बताउँछन्।
“साना छोराछोरीसहित सपरिवार देश छोड्नेहरूको सङ्ख्या बढ्दो छ। मानवतस्करहरूले कतिपय देशको मानवीय कानुनबमोजिम फाइदा पाउने आशा देखाउँदै मानिसहरूलाई ठगिरहेका छन्।”
श्रीलङ्काको जलसेना र अस्ट्रेलियन बोर्डर फोर्सले डुङ्गाबाट अस्ट्रेलिया जाने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न सहकार्य गरिरहेको प्रवक्ताको भनाइ छ।
न खाना, न इन्धन, न औषधि

इन्धनको लाममा मानिसहरू
शिवले श्रीलङ्का फर्किएदेखि नै मदिरा पिउन छोडिदिनुभयो र आफ्नै व्यवसाय सुरु गरेपछि उहाँ ऋण तिर्न सफल पनि हुनुभयो।
तर श्रीलङ्काको वैदेशिक मुद्रा सञ्चिति निकै खुम्चिएपछि त्यहाँको अर्थतन्त्र अभूतपूर्व सङ्कटमा परेको छ। त्यहाँको सरकारले पर्याप्त इन्धन वा औषधि आयात गर्न सकेको छैन र खाद्यान्नको मूल्यवृद्धि भएको छ।
श्रीलङ्काका पेट्रोल पम्पमा निकै लामा लाइनहरू छन्। चालकहरू केही लिटर इन्धनका निम्ति गाडीमै एक साताभन्दा लामो समय बिताइरहेका छन्।
यो टापु राष्ट्रमा आर्थिक सङ्कट बढेका कारण श्रीलङ्काबाट छिमेकी राष्ट्र भारततर्फ जानेको सङ्ख्या बढिरहेको छ। यस्तो परिस्थितिमा शिवको भविष्य पुनः अन्योलमा छ। उहाँ फेरि आफ्नो भविष्यबारे सोचिरहनुभएको छ।
ू”मलाई देशको वर्तमान अवस्था देखेर अस्ट्रेलिया फर्किन मन लाग्छ। पहिले युद्धका कारण र अहिले अर्थतन्त्रका कारण.. हाम्रो देशमा त न खाना छ न त इन्धन र औषधि नै।”
(हामीले कुरा गरेका मानवतस्कर र अस्ट्रेलिया गएका व्यक्तिको वास्तविक नाम यो सामग्रीमा प्रयोग गरिएको छैन।ण्


















