बीरेन्द्रनगर(सुर्खेत), २९ कार्तिक ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने बताउनुभएको छ।
उहाँले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तिव्र आर्थिक विकासमा केन्द्रीत हुने पनि बताउनुभयो।
सभापति देउवाले संसदमा सरकारको विरोध हुने वित्तिकै दुई–दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको बताउँदै गठबन्धन संविधानको मर्म र भावना विपरित नजाने प्रतिवद्धता जनाउनुभयो।
‘संसदलाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’ सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘तपाईँहरुलाई के बचन दिन्छौं भने संविधान कुल्चिने, अपव्याख्या गर्ने, संविधानविपरित संसद भंग नगर्ने र संसदको कार्यकाल पूरा गर्ने बचन दिन्छौं।’
उहाँले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने पनि बताउनुभयो। ‘यो गठबन्धन सत्ता प्राप्तिका लागि होइन्, शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न, संविधानको रक्षा गर्न र तिब्र आर्थिक विकासका लागि निर्माण भएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको संज्ञा दिदै पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’को समूह देखा परेको बताउनुभयो।
‘एकातर्फ पाँच पाण्डवहरु एकढिक्का भएर अगाडि बढेका छौं, अर्कोतिर कौरवको समूह राजा फिर्ता गर्न, सामन्ती निरंकुशतातर्फ देशलाई फर्काउन, नेपाली जनताले पाएका अधिकार खोस्न कसरत गरिरहेका छन्,’ दाहालले भन्नुभयो, ‘त्यसैले मंसिर ४ को निर्वाचन पाण्डव र कौरवहरुकोबीचको महाभारत जस्तो हुँदैछ, त्यसैले परिवर्तन, संविधान, लोकतन्त्र र समावेशीताको पक्षमा मत जाहेर गर्नुपर्नेछ।’
माओवादी अध्यक्ष दाहालले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावना अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताउनुभयो।
दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताउनुभयो। ‘अहिलेको परिवर्तन सानो दुःखले आएको होइन्, १२ बुँदे वृस्तृत शान्ति संझौतापछि देश नयाँ युगमा प्रवेश गरेको हो,’ उहाँले भन्नुभयो, ‘यसलाई उल्ट्याउने कुनै दुस्प्रयास हाम्रा लागि सैय छैन्।’
उहाँले हालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भूमिगत हुँदा पहिलो पटक देशलाई शान्ति प्रक्रियामा लिने विषयमा कुरा गरेको बताउनुभयो।
‘१७ हजारको ज्यान गइसकेको थियो, एउटा पक्षले पूरै जित्न नसक्ने, देश असफल राष्ट्र हुने र विदेशी सेनाको उपस्थिति नेपालमा हुने संभावना देखिएपछि भूमिगत हुँदा पहिलो पटक अहिलेका प्रधानमन्त्रीसँग शान्ति संझौताका विषयमा कुरा भएको थियो,’ दाहालले भन्नुभयो, ‘त्यसैले अहिलेको गठबन्धन शान्ति संझौताको निरन्तरता पनि हो।’
दाहालले वामपन्थीको गोलभित्र अहंकारी केपी ओलीको उदयले बाम गठबन्धन टुटेको बताउनुभयो। उहाँले अब ओलीसँग सहकार्य नहुने दोहोर्याउनुभयो।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समृद्धि र विकासका लागि गठबन्धन दलका साझा उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो।
उहाँले ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीमा विकास बजेट न्यून आउने गरेको बताउँदै गठबन्धन दलका साझा उम्मेदवार विजयी भए संघीय बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो।
‘गठबन्धनको मूल सूत्रधार कर्णाली प्रदेश हो,’ उपसभापति खड्काले भन्नुभयो, ‘नयाँ बन्ने गठबन्धन सरकारले गठबन्धनको सूत्रधार कर्णालीलाई केन्द्रको बजेटमा पहिलो प्राथमिकतामा राख्छ।’
उपसभापति खड्काले कर्णाली प्राकृतिक स्रोत–साधनले सम्पन्न भएपनि भौतिक पूर्वाधारमा पछाडि परेकाले केन्द्रको बजेटमार्फत कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइने बताउनुभयो।
‘विगतमा जनसंख्याका आधारमा छुट्टिने बजेटले कर्णालीलाई अन्याय गर्यो,’ उहाँले भन्नुभयो, ‘अब भूगोललाई आधार बनाएर गठबन्धन सरकारले बजेट छुट्याएर कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइन्छ।’
उपसभापति खड्काले शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नका लागि पनि गठबन्धनका साझा उम्मेदवारहरुको जित आवश्यक रहेको बताउनुभयो। ‘देशलाई सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याउन नेतृत्व गर्ने कांग्रेस र माओवादी एक ठाउँमा उभिएर भोट माग्न आएका छौं,’ उहाँले भन्नुभयो, ‘१२ बुँदे शान्ति संझौताको मर्म अनुसार द्वन्द्वको घाउमा मल्हमपट्टी लगाउन, सहिदका परिवारलाई सम्मान गर्न, आर्थिक प्याकेजमार्फत पीडितहरुलाई क्षतिपूर्ति दिएर देशलाई स्थायी शान्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित गठबन्धन बनेको हो।’
खड्काले पाँच दलीय गठबन्धन २०७४ सालमा एमाले र माओवादी मिलेजस्तो नभएको बताउँदै सडक र संसदबाट संघर्ष गरेर बनेको बताउनुभयो। ‘यो गठबन्धन पाँच दलको रहरले बनेको होइन्,’ उहाँले भन्नुभयो, ‘तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार, घमण्ड, संविधान ध्वस्त पार्ने षड्यन्त्र, व्यक्ति केन्द्रीत शासन र असंबैधानिक कदमकाविरुद्धमा संसद र सडकबाट संघर्ष गरेर बनेको गठबन्धन हो।’(स्रोतःनागरिक)


















