काठमाडौं, २ माघ। माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैटौँ आयोजनाको रूपमा दार्चुला जिल्लामा बहने चमेलिया नदीमा उक्त आयोजना निर्माण गरिरहेको छ ।
४० मेगावाट क्षमतको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिनुभएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाको बलाँच सबस्टेसनमा १३२ केभीका टावरहरूबाट जडान गरिनेछ ।
कम्पनीले २४ महिनाभित्रै आयोजनाको निर्माण सम्पन्न गर्न लागेको हो । कम्पनीको यो छैटौँ आयोजनाको निर्माणपश्चात् कम्पनीले सेयरधनीहरूलाई अझ आकर्षक लाभांश दिन सक्ने समेत जनाएको छ ।
यो आयोजना विसं २०८० साल वैशाखभित्र सञ्चालनमा आउने समेत कम्पनीले जनाएको छ ।
हाल आयोजनाको विद्युत् गृह, सर्ज ट्यांक, सबस्टेसनको निर्माण कार्य सतप्रतिशत सम्पन्न भइसकेको छ भने एलान्मेन्टतर्फ आठ सय मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिलकार्य भइरहेको छ ।
आयोजनामा जेपर्ट, अष्ट्रलिया आयात गरिएका मेसिनहरू साइटमा जडानको कार्य समेत सुरु गरिएको छ ।
आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाइमा रहेका कन्सोर्टियम बैंकहरूको लगानी रहेको छ ।
दार्चुला जिल्लामा कम्पनीले यसअघि ८.५ मेवा क्षमताको नौगड गाढ जलविद्युत् आयोजना र ८ मेवा क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।
कम्पनीले मिश्रित ऊर्जा नीतिलाई आत्मसात् गर्दै सौर्य ऊर्जाको उत्पादनलाई पनि बढवा दिइरहेको छ । जस अन्तरगत ४ मेवा क्षमताको चन्दनिगाहपुर सौर्य आयोजना, १ मेवा क्षमताको ढल्केवर सौर्य आयोजना र १ मेवा क्षमताको सिमरा सौर्य आयोजनाको निर्माण सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिरहेको छ ।
दुईवटा जलविद्युत् आयोजनाहरू र तीनवटा सौर्य आयोजनाहरू सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकालबाट नै शेयरधनीहरूलाई लाभांश वितरण गरिरहेको छ ।
माथिल्लो चमेलिया जलविद्युत आयोजना सम्पन्न भएपछि अपि पावर नेपालमा निजी क्षेत्रमा विद्युत उत्पादन गर्ने ठूलो ऊर्जा कम्पनीमध्ये एक हुने छ ।


















