काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले स्पिनर सन्दीप लामिछानेलाई आइसीसी पुरुष् विश्वकप क्रिकेट लिग २ अन्तरगतको त्रिकोणात्मक ओडीआई सिरिज खेल्न शनिबार युएई जान अनुमति दिएन । उनको बारेमा परेका दुईवटा रिटको आइतबार एकै इजलासमा सुनुवाई भएपछि मात्र उनको जाने नजाने टुुुुुंगो लाग्ने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले उनलाई थुनामा नै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै दिएको निवेदन र सन्दीप लामिछानेको राष्ट्रको लागि एकदिवसीय मान्यता जोगाउन यूएई भ्रमणका खेलहरु जित्नै पर्ने दवाव रहेकोले विदेश भ्रमणमा लगाइएको निषेध हटाउन दिइएको निवेदन एकैसाथ राखेर आइतबार पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो ।
लिग २ को लागि नेपाली टोली शनिबार अपरान्ह ५ बजे युएईतर्फ जार्दैछ । सन्दीप युएई जाने नेपालको टोलीमा छैनन् । यदि सन्दीपलाई अदालतले अनुमति दिएको अवस्थामा युएई लैजाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाउँदै आएको छ ।
क्रिकेटर सन्दीपसंग भदौ ५ गते सहमतिमा डेटिड.मा गएर रात बिताएकी एक कन्याले आफ्नो उमेर १८ बर्षभन्दा कम रहेको भनी भदौ २१ गते प्रहरी वृत गौशालामा उजुरी दिएपछि प्रहरीले सन्दीपविरुद्ध मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । ९९ दिन सुन्धरास्थित केन्द्रिय कारागारमा विताएका सन्दीप उच्च अदालत पाटनको
२८ पौषको आदेशले रिहा भएका थिए । अदालतले उपत्यका बाहिर जाँदा प्रहरीको अनुमति लिन पर्ने र विदेश जान नपाउने शर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतले रिहा गर्ने आदेश दिएपछि नेपाल क्रिकेट एशोसिएशनको माघ १७ मा पोखरामा बसेको बोर्ड बैठकले सन्दीपलाई गरिएको निलम्बन फुकुवा गरेको थयो । क्यानले माघ १९ मा सन्दीपलाई लिग २ को तयारी प्रशिक्षण क्याम्पमा राखेको थियो । माघ २६ मा सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा गरेको थियो ।
मंगलबार सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्डको त्रिकोणात्मक ओडीआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए ।
सिरिजको चारै खेल जितेको नेपालले यूएई भ्रमण सिरिज र नेपालमा हुने सिरिज जितेमा एक दिवसीय मान्यता जोगाउन सक्छ । देशको एक दिवसीय मान्यता नै जोखिममा पर्न लागेकोले सन्दीपले सर्वोच्चमा युएई भ्रमणसिरिजमा जान विदेश निषेधको आदेश फुकुवाको लागि निवेदन गरेका हुन् ।
सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामा नै राखेर अनुसन्धान गर्नुपर्ने पुनरावेदन दिएपछि यो मुद्दा आइतबारसम्मको लागि अल्झिन पुगेको छ ।



















