Prakash Adhikari March 7, 2023

 

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताउनुभएको छ।

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो।

मंगलबार काठमाडौंको होटल सोल्टीमा साहस ऊर्जा प्रा. लि.द्धारा निर्मित ८६ मेगावाट क्षमताको सोलु दुधकोशी आयोजनाको समुद्घाटन मन्तव्यमा प्रधानमन्त्री दाहालले अहिले मुस्ताङको विषयमा बडो चर्चा भईरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको स्पष्ट पार्नुभयो।

एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हिजोआज एउटा चर्चा भएको पनि तपाईंहरुले सुन्नु भएको छ मुस्ताङकै विषयमा। र, मुस्ताङमा बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन।’

उहाँले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको बताउनुभयो। प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ। मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन्। र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रशोधन मात्रै हामीले ठीक ढंगले गर्न सक्यौँ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन्। हामी नेपालीहरुले भन्दा विदेशीहरुले अलि बढि मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढी जानकारी राख्छन् भन्ने पनि तपाईं हामीले सुन्दै आएको पनि हौ।’

प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताउनुभयो। त्यसको ठीक ढंगले अध्ययन गरेमा नेपालमा क्रान्तिकारी परितवर्तन ल्याउन सकिने उहाँले बताउनुभयो।

प्रधानमन्त्री दाहालले थप्नुभयो, ‘मुस्ताङको चर्चा आउने बित्तिकै अलि बढी हामी नेपालीहरु संवेदनशील किन हुने गर्छौं भन्दा हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता वस्तुहरु, यस्ता खनिजहरु छन्। जसलाई हामीले ठीक ढंगले अनुसन्धान गर्यौं भने ठीक ढंगले अध्ययन गरेर उत्खनन् गर्यौ भने त्यसले नेपालमा एउटा रिभोलुशनरी चेन्ज ल्याउन सक्छ भन्ने कुराको प्रमाण हो त्यो। मुस्ताङमात्रै होइन। देशका विभिन्न भागमा विभिन्न किसिमको सोतहरु छन्। पेट्रोल र तेल उत्पादनको सम्भावनामा पनि हामी धेरै अगाडि बढेका छौं।’

Share Now

Leave a comment.