कीर्तिपुर(काठमाडौं), २९ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भैरहेको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गरेको छ ।
आज नेपालको बलिड. राम्रो रह्यो । खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए भने कुशल मल्ल र ललितसिंह राजवंशील २।२ तथा सोमपाल कामीले एक विकेट लिए ।
खेलमा पपुवा न्युगिनीका असद भालालले २०, सेसे बौले १८, चाल्र्स अमिनिले १६, हिरिहिरिले १४, चाल्र्स सुपरले ८, हिला भारेले ७ किप्लिड. डोरिगाले २,कवुआ मोरयाले १ रन जोडे ।
आजको खेलमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले ३२ ओभरको अन्तिम बलमा सेमो कामियाको विकेट लिएर पपुवा न्युगिनीलाई ९५ रनमा सीमित गरिदिए ।
यस पहिले नेपाललाई नवौं विकेटको सफलता कुशल मल्लले दिलाएका थिए । उनले ३०.३ ओभरमा पपुवा न्युगिनीका कावुआ मोरेयालाई १ रनमै आउट गरे ।
नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाललाई आठौं विकेटको सफलता दिलाएका थिए ।
उनले २९.५ ओभरमा पपुवा न्युगिनीका हिला भारेलाई ७ रनमा आउट गरेका हुन् ।
यस पहिले बलर कुशल मल्लले नेपाललाई सातौं विकेटको सफलता दिलाएका थिए । उनले २६.४ ओभरमा पपुवा न्युनिगीका १० बलमा खेलेका नर्मन भानुलाई शून्य रनमा आउट गरे ।
यस पूर्वकप्तान सन्दीपले थप ३ र ललित राजवंशीले अर्को २ विकेट लिएका थिए । नेपालका सोमपाल कामीले एक विकेटको सफलता दिलाएका थिए ।
ललितले पछिल्लोपटक रिले हाकुरेको विकेट लिए भने सन्दीप लामिछानेले २३.१ मा चाल्र्स अमिनी र १९.१ ओभरमा असल भालाको विकेट लिए ।
यसपहिले नेपालका बलर ललित राजवंशीले पीएनजीका ओपनर किप्लिड. डोगोरालाई चौथो ओभरको चौथो बलमा २ रनमा आउट गरे भने अर्का बलर सोमपाल कामीले अर्का ओपनर हिरिहिरिलाई सातौं ओभरको पाँचौ बलमा १४ रन बनाएको अवस्थामा आउट गरे ।
१४ औं ओभरको अन्त्यमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले पीएनजीका बलर सेसे बौलाई २८ बलमा १८ रन जोडेको अवस्थामा आउट गरे ।
नेपाल लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।
पीएनजीविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।
आइतबार संयुक्त अरब इमिरेट्स (युएई)सँगको खेलमा रहेका गुलशन झाको स्थानमा आज करण केसीलाई समावेश गरिएको छ ।
लिग २ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईविरुद्ध खेल्नेछ ।


















