Prakash Adhikari April 12, 2023

काठमाडौं, २९ चैत्र । शान्ति सेनामा जाने नेपाली विभिन्न दर्जाका नेपाली सेनालाई लिएर जाने नेपाल वायुसेवा निगमको उडान इरिटेरियाको नागरिक उड्डयन विभागको बदमासीले अन्तिम समयमा रोकिन पुगेको छ ।

नेपाल वायुसेवा निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार चैत्र २६ गते आइतबार नेपालबाट युगाण्डा जाने उडान सञ्चालन गर्न नेपाल वायुसेवा निगमले पूर्ण तयारी गरी हवाई रुटमा पर्ने एक दर्जन मुलुकबाट अनुमति लिई सकेको थियो ।

तर ती १२ देशभित्रको इरिटेरियाको नागरिक उड्डयन विभागले पनि पहिले दिएको अनुमति अन्तिम समयमा रद्द गरिदिएकोले निर्धारित समयमा निगमको चार्टर उडान हुन सकेन ।

निगमले जनाए अनुसार मार्च १२ देखि नै अनुमतिको लागि प्रयास भएता पनि इरिटेरियाको अनुमति नआएकोले निगमले सिधै त्यहाँको नागरिक उड्डयन विभागसंग १० मार्चको लागि अनुमति लिएको थियो । तर सो उडानको तयारी गर्दागर्दै सो अनुमति रद्द भएको जानकारी दिइयो र पुनर्तालिकीकरण भएको उडान पनि सञ्चालन हुन पाएन ।

निगमले नेपाली सेनासंग द्धिपक्षीय समझदारी गरेर शान्ति सेनामा अदलाबदली हुने विभिन्न दर्जाका सैनिकहरुलाई चार्टर उडानबाट पुर्याउने र ल्याउने गर्दै आएको छ ।

निगमका विमानहरु युरोप बाहेकका अन्य देशमा चार्टर उडान गर्न कुनै समस्या नभए पनि युरोपियन युनियनले नेपाललाई हवाई उडानको कालोसूचिमा राखेकोले युरोपका देशहरुले भने त्यहाँ उडान गर्ने अनुमति दिन आनाकानी गर्ने गर्दछन् । तर अफ्रिकाको उत्तरतिर पर्ने यो सानो देशले किन अडकाउ थाप्यो भन्ने कुरा रहस्यमय छ ।

शान्ति सेनामा जाने सैनिकहरुलाई ओसारपोसार गर्न शान्ति सेना जाने देशका एअरलाइन्स र नाम चलेका खाडी मुलुका एअरलाइन्सका साथै निगमका प्रतिस्पर्धी अन्य एअरलाइन्सहरुले पनि रुचि देखाउदै आएका छन् ।

निर्धारित उडान हुन नसकेपछि निगमका उच्च पदाधिकारी, नेपाली सेनाका उच्च पदाधिकारीको बैठक बसेर संयुक्त राष्ट्र संघको शान्ति सेना समन्वय एकाईसंग सम्पर्क गरी उपयुक्त समयमा सो चार्टर उडान गर्ने सहमति भएको निगमले जनाएको छ ।

Share Now

Leave a comment.