Prakash Adhikari September 30, 2024

 

काठमाडौँ,१४ असोज। साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजार उकालो लागेको छ । यस दिन धितोपत्र बजार परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको छ ।

आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज कुल ३ सय १९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज २ सय १० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहन गएको छ ।

आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजना, यूनाइटेड मोदी हाइड्रो, सर्वोत्तम सिमेण्ट, सोना मिनरल्सलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै शिभम् सिमेण्ट्स,महुली सामुदायिक लघुवित्त, हाथवे, घोराही सिमेण्ट र श्री इन्भेष्टमेण्ट फाइनान्सको मूल्य आज ९।९८ प्रतिशतदेखि ६.४८ प्रतिशतसम्म बढेको छ ।

यस दिन प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड, प्रभु स्मार्ट फण्ड, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १, एनएलजी इन्स्योरेन्स,इड.वा हाइड्रो पावर, पाँचथर पावर कम्पनी, अपर स्याँगे,आरबीबी म्युचुयल फण्ड २ र सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य घटेका छन् ।

कारोबारका आधारमा यस दिन सीईबीडी हाइड्रो, सर्वोत्तम सिमेण्ट, शिभम् सिमेण्ट्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सोना मिनरल्स, एनएलजी इन्स्योरेन्स, हाथवे इन्भेष्टमेण्ट, गुडविल फाइनान्स र अपि पावरको कारोबार बढी भएको थियो ।

 

 

Share Now