लक्जेम्बर्ग, १३ साउन । यूरोपमा रहेका गैर आवसीय नेपालीहरुको लक्जेम्वर्ग भेलामा ज्ञान,सीप र पूँजी भएका नेपालीलाई स्वदेशमा फर्केर देश र जनताको सेवा गर्न समान अवसर दिनुपर्ने धारणा नेपालबाट आतिथ्य गर्न पुगेका नेताहरुले सार्वजनिक गरेका छन् ।
एनआरएन यूरोपको ११ औं बैठकको उद्घाटन शत्रलाई आइतबार सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल फर्कन चाहने सबै गैर आवासीय नेपालीलाई राजनीतिक सहित सबै अधिकार दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशमा रोजगारीको अवसर नपाएर विदेशिन विवस नेपालीहरुले विदेशमा सिकेकोको ज्ञान,सीप र कमाएको पूँजी स्वदेशमा लगाएर देश र जनताको सेवा गर्न चाहन्छन भने उनीहरुलाई रोक्नुहुँदैन, राजनीतिक सहित सबै अधिकार दिनुपर्दछ ।’
बैठकको उद्घाटन गर्दै पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले संविधानमा प्रत्याभूत भईसकेको एनआरएनको पहिचान र अधिकार सुरक्षित हुने दावी गर्नुभयो ।
बैठकमा वर्तमान सरकारमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितले एनआरएनप्रति लक्षित गरि दिएका अभिव्यक्तिहरुप्रति सरकारको आधिकारिक धारणा माग भएको थियोे । कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता सम्बन्धी कानुन बनाईसक्नुपर्ने मिति नजिकिदै गर्दा एनआरएनको सबैभन्दा महत्व र चासोको यो बिषयमा देखिएका आशंकालाई प्रष्ट पार्न मन्त्री ज्ञवालीलाई अनुरोध गर्नुभएको थियो।
परराष्ट मन्त्री ज्ञवालीले सामान्य प्रशासन मन्त्री पण्डितको भनाईबाट गैरआवासीय नेपालीको भावनामा पुगेको चोटप्रति क्षमा समेत माग्नुभएको थियो ।केही समय पहिले नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एनआरएनलाई नागरिकता दिन नसकिने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
कार्यक्रममा लक्जेम्बर्ग सरकारका शिक्षा युवा तथा बालबालिका मन्त्री कलाउदे मेईसले नेपाल र लक्जेम्बर्गको सम्बन्ध जनस्तरीय रहेको बताउँदै नेपालको विकासमा सहकारी गर्न लक्जेम्बर्ग सदैव तयार रहेको बताउनुभएको थियो।
कार्यक्रमलाई एन अआर एन अध्यक्ष भवन भट्ट लगायत नेपालबाट आमन्त्रित वक्ताहरुले सम्बोधन गर्नुभएको थियो।
दुई दिनसम्म चल्ने एनआरएन यूरोप बैठकमा नेपालमा लगानी, पर्यटन प्रवर्दन, आप्रवास , सिप स्थानान्तरण लगायतका शीर्षकमा बिभिन्न सेसन मार्फत सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागितामा अन्तर्क्रियात्मक सेसनहरु चलिरहेका छन्।
पहिलो दिन साहित्यिक संवाद र पत्रकारको प्रस्तुति
एनआरएनएको युरोपियन भेलामा पहिलो दिन साहित्यिक संवाद, पत्रकार महासंघ युरोप शाखाको प्रस्तुति सम्पन्न भएको छ ।
भेलाको पूर्व बैठक कार्यक्रमको रुपमा राखिएको सो कार्यक्रममा प्रवासमा पत्रकारिताको अवस्था र समन्वयात्मक भूमिकाबारे समूह शाखाका अध्यक्ष केजीन राई, वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई, केसंस सदस्य ओम शर्मा, सल्लाहकार पञ्चम अधिकारी लगायतले बोल्नुभको थियो । महासचिव योगेन्द्रमिलन छन्त्यालले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा एनआरएनए युरोप संयोजक शिवकुमार बरुवाल, अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी र प्रवक्ता भूषण घिमिरेले पत्रकारहरुको जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रमको सञ्चालन चिरन शर्माले गर्नुभएको थियो ।
साहित्यिक संवाद कार्यक्रममा उपन्यासकार अमर न्यौपाने, साहित्यकारद्वय डाक्टर रवीन्द्र समीर र जीवा लामिछानेले लेखन शैली र साहित्यबारे रोचक छलफल चलाउनुभएको थियो । कार्यक्रममा जानकी गुरुङ, सीता सापकोटा, भवन भट्ट, हरि पौडेल, योगेन्द्रमिलन छन्त्याल लगायतले कविता तथा गजल वाचन गर्नुभएको थियो । साहित्य संवादको अध्यक्षता गोविन्दप्रसाद गौतम र सञ्चालन फणिन्द्र भट्टराईले गर्नुभएको थियो ।
साँझ लक्जम्बर्गमा रहेका र अतिथि कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
हिल्टन अनर्स होटेल लक्जम्बर्गमा भएको एनआरएन यूरोप बैठक सोमबारसम्म चल्नेछ ।