Prakash Adhikari March 23, 2019

संजीव गिरी/बीबीसी नेपाली सेवा

दोहा(कतार),९ चैत्र । कतारमा नेपाली कामदारको माग बढेकोले त्यहाँ उनीहरूको रोजगारीको प्रक्रिया सहज बनाउन दुवै देशका अधिकारीहरूले गृहकार्य तीव्र बनाए पनि अपेक्षाकृत रूपमा कार्य हुन नसकेको सरकारी अधिकारीहरूले स्वीकारेका छन्।

गत हप्ता नेपाल र कतारबीच दोहामा सम्पन्न वार्तामा दुई पक्षले सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने र नेपालमा भिसा केन्द्र खोल्ने विषयमा छलफल गरेका थिए।

त्यो बैठकमा श्रमिकहरूले आर्थिक भार बेहोर्न नपर्नेगरी सम्झौता गर्ने विषयमा कतार सकारात्मक भएको थियो।

तर थप गृहकार्यपछि मात्रै नेपाली श्रमिक सहज ढङ्गले कतार लैजाने विषयमा औपचारिक सहमतिमा हस्ताक्षर हुने भएको छ।

बैठकका विषय

वैदेशिक रोजगार

दुई देशका अधिकारीबीच अर्को बैठक काठमाण्डूमा गर्ने सहमति भएको छ।

मार्चको दोस्रो हप्ता कतारमा सम्पन्न बैठकमा नेपालमा भिसा केन्द्रको स्थापना, श्रम सम्झौताको पुनरवलोकन र नेपाली कामदारले भोगेका समस्याबारे छलफल भएको थियो।

दुवै पक्षले छलफलका आधारमा समस्याहरू पहिचान गरेर कार्यवृत्त पुस्तकमा हस्ताक्षर गरेको रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सह-सचिव राम प्रसाद घिमिरे बताए।

”हामीले कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्नका लागि तयार पारेको मस्यौदा समेत पेस गरेको छौँ, जसका कारण पनि उनीहरूले थप अध्ययनको माग गरेका हुन।”

उनका अनुसार पछिल्ला वर्षमा श्रमसँग सम्बन्धित कानुन, नियमावली र नीतिगत व्यवस्थामा दुवै मुलुकमा व्यापक परिवर्तन आएकाले पनि सम्झौता पुनरावलोकन गर्नुपर्ने माग नेपालले गरेको घिमिरेले बताए।

त्यसबाहेक दीर्घकालीन रूपमा प्रभाव पर्ने विषय भएको र कानुनी तथा नीतिगत तहमा पछिल्ला वर्षमा व्यापक परिमार्जन भएका कारण राजनीतिक तहबाटै निर्णय गर्दा राम्रो हुने नेपाली अधिकारीहरूको बुझाइ छ।

स्पष्टता

नेपाल र कतारबीच दोहामा भएको वार्तामा ‘कतार भिसा सेन्टर’बारे भने नेपाली पक्षको संशय चिरिएको नेपाली पक्षको भनाइ छ।

भिसा सेन्टर स्थापना हुने भनेर खबर प्राप्त भए पनि ठोस विवरण प्राप्त नभएकाले पनि नेपालले उक्त विषयलाई प्राथमिकताका साथ उठाएको थियो।

विषेशगरी उक्त भिसा केन्द्र कूटनीतिक निकायकै रूपमा स्थापना गरिने हो वा होइन भन्ने विषयमा नेपालको चासो थियो।

”उनीहरूले भिसा सेन्टर कतारको राजदूतावास अन्तर्गत नपर्ने बताएपछि हामीले त्यस्तो अवस्थामा आकर्षण हुने कानुनबारे समेत चर्चा गरेका थियौँ।

भिसा सेन्टरको काम

Image result for qatar Visa center Sri lanka

आप्रवासी श्रमिक लिने प्रक्रियालाई सहज बनाउने भन्दै कतारले गत वर्षबाट धेरै कामदार पठाउने आठ देशमा २० वटा भिसा सेन्टर स्थापना गर्ने बताएको थियो।

दक्षिण एशियामा यसअघि नै श्रीलङ्कामा एउटा, बङ्लादेश र पाकिस्तानमा दुई-दुईवटा खुलिसकेका छन्।

Image result for qatar Visa center Sri lanka

भारतका विभिन्न शहरमा समेत केन्द्रहरू खोल्ने तयारी कतारले गरेको बताइन्छ।

छलफलका क्रममा कतारी अधिकारीहरूले भिसा सेन्टरको अवधारणाबारे स्पष्ट रूपमा कुरा राख्दै त्यसैले गर्ने कार्यको फेहरिस्त प्रस्तुत गरेको घिमिरे बताँउछन्।

फाइदा
नेपालमा भिसा केन्द्र स्थापना भएपछिको सबैभन्दा ठुलो उपलब्धि भनेको कतार पुगेपछि विभिन्न बहानामा विमानस्थलबाटै नेपाल फर्काइदिने प्रवृत्तिको अन्त्य रहेको सरकारी अधिकारीहरूको जिकिर छ।

त्यसबाहेक कार्यस्थल पुग्नुअघि नै श्रम सम्झौता हुने हुँदा कामदारको हकमा थप स्पष्टता रहने छ।

श्रम मन्त्रालयका अनुसार कतारमा करिब ३,५०,००० नेपाली कामदार कार्यरत छन्। बीबीसीबाट

 

Share Now

Leave a comment.