मुम्बई(भारत),१० चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध भारतको दिल्ली क्यापिटल टीमले आफ्नो पहिलो खेल आज राती मुम्बई इण्डियनसंग खेल्दैछ ।
खेल मुम्बईको बान्खडे रंगशालामा राती ८ : १५ मा आरम्भ हुनेछ ।
भारतीय युवा क्रिकेटर श्रेयस ऐअरको नेतृत्वमा रहेको टीमका संभावित खेलाडीहरुको सूचीमा नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने पनि परेका छन् ।
भारतीय खेल मिडियाहरुले संभावित ११ को सूचीमा कप्तान श्रेयस ऐअर, शिखर धवन,पृथ्वी शा, कोलिन मुनरो,ऋषव पन्त, कोलिन इन्ग्राम,अक्षर पटेल, राहुल टिवटिया,हर्षद पटेल, ट्र्ेन्ट बोल्ट र सन्दीप लामिछानेको नाम समावेश गरेका छन् ।
मुम्बई इण्डियनलाई गत बर्षका दुवै खेलमा दिल्लीले जितेको थियो भने त्यस अगाडिको २०१७ को १० औं संस्करणमा दुवै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो ।
हालसम्म खेलिएका ११ वटा आईपीएल प्रतियोगितामा दिल्ली अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन् ।
गत संस्करणमा ऊ प्लेअफमा पुग्नै सकेन ।
उसको टीममा अनुभवी बलरहरुको सख्त अभाव देखिएको थियो ।
गत बर्ष पनि सोही टीममा आबद्ध भएका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई टीम प्लेअफमा नपुग्ने एकिन भएपछिका बाँकी खेलमा मौका दिइएको थियो ।
उनले बाँकी रहेका तीन खेलमा आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाए । तीन खेलमा ५ विकेट लिए ।
उनी आइसीसीले राखेको हेर्नपर्ने खेलाडीको सूचीमा पनि दोस्रो नम्बरमा नै रहेका छन् ।
सन्दीप तिखारिदै छन्

दिल्ली क्यापिटलले पुरानै रेटमा आफ्नो टिममा राखेपछि बुधबार दिल्ली पुगेका सन्दीप लगत्तै टीममा सामेल भएर निरन्तर अभ्यासमा सरिक भएका छन् । दिल्लीमा रहदा कोट्ला रंगशालाको अभ्यासमा सरिक भएका सन्दीप टीमसंगै अहिले मुम्बईमा अभ्यासरत छन् । मुम्बईको वान्खडै रंगशालामा टीमसंग कस्सिएर अभ्यासमा लागेका सन्दीपको पहिलो खेल नेपाली दर्शकका लागि मात्र हैन संसारभरका क्रिकेटप्रेमीहरुको रुचिको विषय बनेको छ । उनले सानो उमेरमा नेपाल जस्तो देशबाट जुन खालको प्रदर्शन गरिरहेका छन् त्यो क्रिकेट संसारले गर्व गर्न लायक छ ।मौका पाएको बेलामा विकेट लिन पछाडि नपरेका नेपाली क्रिकेट स्टारको प्रर्दशन टीमा उत्कृष्ट रहने अपेक्षा पनि गरिएको छ । टीमका अन्य खेलमा उनको स्थान पहिलो खेलको प्रदर्शनमा निर्भर रहने छ ।
दिल्लीले उनलाई यसपटक राम्रोसंग मूल्यांकन गरेको देखिन्छ । उनलाई इन्दिरा गान्धी इन्टरनेशनल एअरपोर्टमा अवतरण गरेपछि टीमले पिक अप गर्दा लिएको अन्तरवार्ता पनि फेसबुकमा राखेको छ ।हेर्नुहोस् उनको भिडियो जस्ताको तस्तै :
अन्तरवार्तामा उनले आफूले शतप्रतिशत ध्यान खेल जित्न लगाउने उल्लेख गर्दै यस पटक दिल्ली विजेता बन्न सक्ने विश्वास व्यक्त गरे । उनले आफू जहा भए पनि नेपाल र नेपालीको मान र शान उचो राख्ने बताए ।



















