Prakash Adhikari April 1, 2019

सिमरा (बारा), १८ चैत्र । आइतबार आएको आँधी बेहरीमा परि घाइते भएका नागरिकहरुको स्वास्थ्योपचारको लागि नेपाली सेनाको बारामा रहेको बाहिनीबाट चिकित्सकहरुको एक टोली खटिएको छ भने स्वास्थ्य मन्त्रालयले पनि एक टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

हाल बाहिनीका ८ जना चिकित्सक घाइतेको उपचारका लागि खटिएका छन् ।

हाल सैनिक अधिकारीहरुले त्यहाँ विरामीको उपचारका लागि आवश्यक पर्न सक्ने भएकाले रक्तदान शिविरको पनि आयोजना गरिरहेका छन् । आवश्यकता भए अनुसार थप चिकित्सकको टोली पनि बारा पठाउने तयारी गरिएको जङ्गी अड्डाले बताएको छ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको बताएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा रमेश खरेलको नेतृत्वको एक टोली प्रभावित जिल्लामा पठाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो।मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जनकपुर र चितवनबाट अर्थोपेडिक सर्जनसहितको चिकित्सकीय टोली पनि बारामा पुगिसकेको बताउनुभएको छ ।

मन्त्रालयले विशेषज्ञ चिकित्सकसहितको टोली पठाएको छ । मन्त्रालयको औषधिको केन्द्रीय स्टोर पथलैयामा रहेकोले आवश्यक औषधीहरु भने त्यहीबाट उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।

घाइतेहरुको बाराको सदरमुकामको कलैया अस्पताल, वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल,हेल्थ केयर, वीरगञ्ज नेसनल मेडिकल कलेज र न्युरो अस्पताल उपचार भइरहेको छ।

मन्त्रालयले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, सचिव चन्द्रप्रसाद घिमिरे, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। गुणराज लोहनी प्रभावित जिल्ला पुगिसक्नुभएको र राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादव पनि जाने तयारी रहेको जनाएको छ ।

यस अगाडि प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सोनलले अस्पतालमा घाइतेहरु छटपटाइरहेको र डाक्टरहरुको ठूलो अभाव खड्किएकोले त्यसैले तत्कालै छिमेकी जिल्ला चितवनबाट हुन्छ कि काठमाडौंबाट चिकित्सकहरु पठाउन संघीय सरकारसंग आग्रह गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.