काठमाडौँ, २० बैशाख । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा पेश हुँदैछ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ ।
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ।
संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति कार्यक्रम पेश हुनेछ।
वर्तमान सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेश गर्न लागेको हो। अघिल्लो वर्ष सङ्घीय संरचना अनुसार पहिलो पटक नीति तथा कार्यक्रम पेश भएको थियो।
सरकार आज पेश गरिने नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६ /०७७ को बजेट संसदमा पेश गर्नेछ।
नेपालको संविधानले जेठको १५ गते संघीय संसदको बजेट पेश गर्ने प्रावधान राखेको छ ।
बजेट अगाडि संसदबाट बजेटको नीति र कार्यक्रममा पनि छलफल गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।
यसलाई प्रि-बजेट भनिन्छ ।
अघिल्ला वर्षहरूमा प्रि-बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइने अभ्यास थियो।
यो वर्ष प्रि-बजेट पहिले नै नीति तथा कार्यक्रम ल्याइन लागिएको हो।
वैशाख २४ गते नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिनेगरी सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको छ।
सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रिबजेट पेश हुनेछ।
नीति तथा कार्यक्रममा जवाफ दिएर पारित गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भने भियतनाम भ्रमणमा जाने कार्यसूची छ।
प्रधानमन्त्रीको भ्रमण वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म तय भएको छ ।
सरकारले वैशाख ३१ सम्म प्रिबजेट छलफल समेत सक्ने योजना पठाए पछि संसद सचिवालयले सोही अनुरुपको तयारी गरेको छ।