ब्राम्पटन(क्यानडा),२० साउन । ग्लोबल टि २० लिग क्यानडा टीमको पाँचौ तथा आफ्नो दोस्रो खेलमा सन्दीप लामिछानेले एक विकेट लिएका छन् । उनको खेल पनि पहिलोको तुलनामा निकै सुधारिएको छ ।
सोमबार बिहान सम्पन्न खेलमा सन्दीपको टोरोन्टो नेशनलले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गर्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ।
अर्का नेपाली खेलाडी सोमपाल कामी सम्मिलित टिम विन्नीपेग हक्सले पनि ५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुलेको छ तर नेट रन रेटको आधारमा टोरोन्टो माथि रहेको छ।

सबै टिमले ५ ५ वटा खेल खेलेपछि ग्लोबल टि २० लिगको लिग चरणको खेलहरु सकिएको छ र अब प्लेअफ चरणको खेलहरु मंगलबारदेखि सुरु हुनेछ।
अब प्रतियोगिताको दोश्रो चरणको खेलमा अंकतालिकाको शिर्षस्थानमा रहेको ब्राम्पटनले छैठौं स्थानको टिम एडमोन्टन रोयल्ससंग, दोश्रो स्थानको टिम भान्कुभर नाइट्सले पाँचौ स्थानको टिम विन्नीपेग हक्ससंग तथा तेश्रो स्थानमा रहेको टिम मोन्टरियल टाइगर्सले चौथो स्थानको टिम टोरोन्टो नेसनल्ससंग खेल्नेछ। ३ वटा खेल सम्पन्न भएपछि अंकतालिकामा उत्कृस्ट ४ टिम प्ले अफ चरण प्रवेश गर्नेछन्।
अब सोमपालको टिम विन्नीपेगले भोलि मंगलबार राति २ः१५ बजे भानकुभरसंग र सन्दीपको टीम टोरोन्टोले बुधबार राति १० : १५ बजे मोन्टरियलसंग खेल्नेछ।
Global T20 Canada
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| BW | 5 | 4 | 1 | 8 | 1.951 |
| VK | 5 | 3 | 1 | 7 | 0.769 |
| MT | 5 | 2 | 2 | 5 | -1.616 |
| TN | 5 | 2 | 3 | 4 | -0.035 |
| WH | 5 | 2 | 3 | 4 | -0.722 |
| ER | 5 | 1 | 4 | 2 | -0.548 |
सोमबारको खेलमा टोरोन्टोले टस जितेर बलिंग रोजेपछि ब्याटिंगमा उत्रिएको मोन्टरियल टाइगर्सले २० ओभरको निर्धारित खेलमा ९ विकेट गुमाउदै १ सय ३६ रन जोडेको थियो।
उसको लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाए। दिनेश चण्डीमाल ५, जर्ज बेली १५, थिसरा परेरा १७ रन बनाएर आउट भए।
टोरोन्टोको बलिंगमा क्रिस ग्रिन र सलमान नजरले २ । २ तथा सन्दीप लामिछाने, जेरेमी गोर्डन र मिचेल म्याकलेनघनले एक एक विकेट लिए।
सन्दीपले मोन्टरियलका विकेट किपर ब्याट्सम्यान म्याथु क्रसको विकेट लिएका थिए ।
इनिंगको छैठौं ओभरमा बलिंग गर्न आएका सन्दीपले पहिलो ओभरमा ७ रन खर्चिएका थिए। लगातार सातौँ ओभरमा बलिंगगर्दा सन्दिपले ७ रन खर्चिए । १४ औं ओभरमा सन्दीपले मात्र ५ रन खर्चिए। १६ औं ओभरमा बलिंग गर्ने क्रममा पहिलो बलमै सन्दिपले म्याथु क्रसलाई गुगलीमा एलबिडब्लु आउट गरे।यो ओभारमा उनले ९ रन खर्चेर १ विकेट लिए।
सन्दिपले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए मोन्टरियललाई सानो योगफलमा समेट्न योगदान दिए।
मोन्टरियलले दिएको १ सय ३७ रनको लक्ष्य टोरोन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। टोरोन्टोका लागि ओपनर चिराग सुरीले सर्वाधिक ५२ तथा क्रिस ग्रिनले अविजित ३०, एच क्लासेनले २० तथा रबीन्दरपाल सिंहले १५, आरए थोमस ६, एमजे म्याक्लेनाघन २,एमसी हेनरिक र सलमान नजरले १ । १ रनको योगदान दिए ।
टोरन्टो नेशनललाई रोक्न एसी इभान्स र फवाद अहमदले २/ २, एनएलटीसी परेरा र एससी कुग्गेलैज्नले १ /१ विकेट लिएका थिए ।


















