Prakash Adhikari December 16, 2019

काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका प्रतिनिधिहरुबीच सोमबार बिहान बार्ता भएको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा संस्थापन पक्षका वार्ताकार उपसभापति विमलेन्द्र निधि र इतर पक्षका वार्ता समितिका संयोजक प्रकाशमान सिंहसहित हृदयराम थानी र दिलेन्द्रप्रसाद बडूबीच पार्टीका आगामी महाधिवेशनको कार्यतालिका र पार्टीका विभाग गठन तथा भातृ संगठनका पदावधि थपसम्बन्धी विषयमा छलफल भएको थियो ।

छलफलपछि सहमति निकट पुगिएको नेताहरुले बताएका छन् । हिजो बिहान भएको वार्ता सहमति कायम गर्ने मार्गमा रहेकोले कांग्रेसको आइतबारको बैठक कुनै निर्णयबिना टुंगिएको थियो ।

नेपाली कांग्रेसको जारी बैठकमा पार्टीका ४१ विभागहरुको गठन, तरुण दलको पदावधि थप, जनजागरणको तेस्रो तथा अन्तिम अभियानको समय सार्ने लगायतका एजेण्डाहरु प्रस्तावित भएका छन् ।

कांग्रेसको संस्थापन पक्ष पार्टी महाधिवेशन एक बर्ष सार्ने पक्षमा छ । संस्थापन पक्षको तर्क छ, संशोधित विधानमा पार्टीका स्थानीय तहका अधिवेशनहरु पार्टी महाधिवेशन हुुनुभन्दा एक बर्ष पहिले सम्पन्न गर्ने र महाधिवेशनको बर्ष क जिल्ला,प्रदेश र केन्द्रीय महाधिवेशन गरिने उल्लेख भएकोले एक बर्ष पहिले महाधिवेशन गर्न संभव छैन् । त्यसैले कार्यतालिका बनाउन समय छ ।

तर गैरसंस्थापन पक्ष भने पार्टीको संगठनात्मक अवस्था तहसनहस भएको र हालको निष्कर्म कार्यसमितिको म्याद थप गर्दा पार्टीको आन्तरिक जीवन पद्धतिमा ज्यान नआउने भएकोले महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई काम गर्न मौका दिन पर्ने बताउदै आएको छ ।

हालको अवस्थामा पार्टीमा सभापति शेरबहादुर देउवाको कब्जा रहेकोले अगाडि हुने निर्वाचन सभापतिको हितमा हुने देखिन्छ भने निर्वाचन सारेर पछाडि धकल्दा त्यसको लाभ गैैरसंस्थापनलाई पनि पुग्न सक्छ । किनकी अब गठन हुने विभाग,समिति र भातृसंगठनका तदर्थ समितिमा गैरसंस्थापन पक्षले पनि आफ्नो भाग खोज्ने छ । पार्टी संरचनामा पाएको अंश र देशव्यापी आफ्नो गैर संस्थापनपक्षीय सञ्जालको उपयोग गर्दा त्यसको लाभ संस्थापन इतर पक्षमा जान सक्छ ।

Share Now

Leave a comment.