Prakash Adhikari March 20, 2020

 

जनकपुरधाम(धनुषा), ७ चैत्र । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यस अगाडि बिहिबारदेखि गण्डकी प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको थियो ।

कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेको दुईदिनपछि प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो ।

यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले दुई वटा विधेयक पेस गर्नुभएको थियो ।
उहाँले प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ र प्रदेश २ को जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेस गर्नुभयो ।

यस्तै, बिहीबारको बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पेस गरेको प्रदेश सहकारी विधेयकमा सैद्वान्तिक छलफल भएको थियो ।

गण्डकीको प्रदेश सभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक बिहिबारदेखि नै अनिश्चितकालका लागि स्थगित भैसकेको छ । बिहीबार १ बजेका लागि बैठक सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

गएको बुधबारदेखि गण्डकी प्रदेशका लगातार ४ वटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सञ्चालन हुन सकेको थिएन । नेपाली कांग्रेसले निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम, संसदको सचिवालयसम्बन्धी विधेयकलगायतमा असहमति जनाउँदै संसद अवरुद्ध गर्दै आएको थियो ।

गण्डकी प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार देशमा कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि अबलम्बन गरिएका उपायहरुका कारण प्रदेशसभा बैठक लामै समय स्थगित हुनसक्ने छ ।

Share Now

Leave a comment.