Prakash Adhikari March 20, 2020

सिड्नी(अष्ट्रेलिया),७ चैत्र (बीबीसी) । अष्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्‌कालीन चेतावनी जारी गरिएको छ।

न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन्।

सो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो। जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिस सहित कूल ३,८०० जना चढेको बताइएको छ।

सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको थियो।

अष्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।

“हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड-१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन्,” हजार्डले बताए।

उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए। कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ।

पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टीनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो।

चार वर्गमिटरको नियम
यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घरभित्र पनि सबैजनाले प्रतिव्यक्ति चार वर्गमिटरको स्थान राख्नुपर्ने बताएका छन्।

अस्ट्रेलियामा १०० जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकका बाहेक सबै भेलामा प्रतिबन्ध लगाएको छ।

यो नयाँ नियमले भने भोजनालय र अन्य व्यापारलाई असर पार्ने मानिएको छ।

अस्ट्रेलियामा ७०० सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरू छन्।

Share Now

Leave a comment.