Prakash Adhikari May 25, 2020

 

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो।

पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

ती व्यक्ति क्षयरोग र श्वासप्रश्वासको समस्याबाट पीडित भएको जानकारी पनि डा. देवकोटाले दिनुभयो।

उनको अन्तिम संस्कार भइसकेको छ।

यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला तथा बाँके र गुल्मीका एक एक जनाको पनि कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भइसकेको छ ।

थपिए सङ्क्रमित

साथै मन्त्रालयले थप ६ जनामा कोभिड १९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। यसअघि बिहान मन्त्रालयले ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो।

सोमवार कोरोना भाइरस पुष्टि भएका मृतकसहित अब सङ्क्रमितको कुल सङ्ख्या ६ सय ८२ पुगेको छ।

कोरोना भाइरसको संक्रमण देखिएकामध्ये अहिलेसम्म १ सय १२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।

डा. देवकोटाका अनुसार विगत २४ घण्टामा २ हजार ९ सय ४ वटा परीक्षण पीसीआर विधिबाट गरिएको थियो। सोमवार अपरान्हसम्म कुल ५१ हजार ६ सय ४२ वटा परीक्षण भएका छन्।

कोरोना
अहिलेसम्मको तथ्याङ्कमा ४६ हजार २९ जना देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा छन्।

जिल्लागत विवरण हेर्दा बाँकेमा सर्वाधिक १ सय ४६ सङ्क्रमित फेला परेकोमा अहिलेसम्म २१ जना निको भएका छन्।

पर्सामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ९५ मध्ये २५ जना र कपिलवस्तुका ८३ मध्ये एक जना भाइरसमुक्त भएका छन्।

नयाँ सङ्क्रमित कहाँका
मन्त्रालयले अपराह्ण पुष्टि गरेका छ सङ्क्रमितमध्ये एक जना अछामका ३२ वर्षीय पुरुष हुन्।

अब सबै प्रदेशका ७७ मध्ये ४३ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

बर्दियामा थप तीन पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना सङ्क्रमण पुष्टि भएको छ।

उनीहरूमध्ये एक जना बाराको १८ वर्षीय किशोर र एक जना काठमाडौं घर भई कलैया बारामा कार्यरत व्यक्ति भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बिहान पुष्टि भएका सङ्क्रमितमध्ये दैलेखमा फेला परेका सात जनामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन्।

रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन(तीन जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा फेला परेका सङ्क्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन्।

त्यसैगरी बारा र सप्तरीमा दुई दुई जना तथा बर्दियामा एक जनामा पनि सङ्क्रमण देखिएको छ।

उनीहरू १६ देखि ५३ वर्ष उमेरका भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

Share Now

Leave a comment.