काठमाडौं, २३ आषाढ । विगत २४ घण्टामा थप २ सय ४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या १६ हजार कटेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६ हजार १ सय ६८ पुगेको छ।
तीमध्ये ७ हजार ४ सय ९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।
अहिले देशभरि आइसोलेशनमा ८ हजार ६ सय ३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।
मङ्गलवार पुष्टि भएका सङ्क्रमित काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका हुन्।
गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १ सय ८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।
गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। शनिवार २ सय ३२ जना र आइतवार २ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।
को हुन् सङ्क्रमित ?
सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये बाजुराका सर्वाधिक ५४ जना छन्।
त्यसैगरी काठमाण्डौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जना गरी उपत्यकामा कुल २८ जना छन्।
अछाममा ११ र बैतडीमा ११ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा सङ्क्रितको सङ्ख्या बढेको भए पनि समुदायमा नफैलिएको दाबी गनुभएको छ।
अरू तथ्याङ्क के छ ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १ सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। तीमध्ये ३.३ प्रतिशत अर्थात् २०४ वटा नमुनानमा भाइरस पुष्टि भएको हो।
यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २ लाख ६१ हजार ८ सय ६१ पुगेको छ।
अहिले देशभरि क्वारेन्टाइनमा २५ हजार ७ सय २७ जना छन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार २३ गते मङ्गलवार अपराह्ण ४ :३० बजेसम्मको तथ्याङ्क
- १६,१६८ कुल सङ्क्रमण
- ६८८ विगत २४ घण्टामा घर फिर्ता
- विगत २४ घण्टामा पीसीआर परीक्षण ६,१२३
- सक्रिय सङ्क्रमित ८,६३४
- देशभरि क्वारेन्टाइनमा २५,७२७
- अहिलेसम्म निको ७,४९९
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
देशका ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको भए पनि मन्त्रालयका अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या शून्य छ।
तर महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढेको छ। त्यहाँ सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या अन्यत्रको भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।


















