Prakash Adhikari July 8, 2020

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २४ आषाढ (बीबीसी) ।अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि “सबैभन्दा ठूलो र दीर्घकालीन खतरा” भएको दाबी गर्नुभएको छ।

वाशिङ्टनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गर्नुभएको हो।

चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव दिएको र कोरोनाभाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पुर्‍याउन खोजेको आरोप उहाँले लगाउनुभयो।

“चीन जसरी पनि विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्न पूरै राज्यसंयन्त्र प्रयोग गरेर प्रयास गर्दैछ,” उहाँले भन्नुभयो।

मङ्गलवार झन्डै एक घण्टा बोल्दै एफबीआई निर्देशकले चिनियाँ हस्तक्षेप, आर्थिक गुप्तचरी, तथ्याङ्क र पैसा चोरी तथा घुस र दबावमार्फत् अमेरिकी नीतिलाई प्रभावित गर्ने अवैध गतिविधिबारे वर्णन गर्नुभयो।

“हामी अहिले यस्तो बिन्दुमा पुगेका छौँ जहाँ एफबीआईले प्रत्येक १० घण्टामा चीनसम्बन्धी एउटा प्रतिजासुसी मुद्दा हेर्छ,” रेले भन्नुभयो।

“देशभरिका झन्डै ५,००० वटा प्रतिजासुसी मुद्दामध्ये आधाजति चीनसँग सम्बन्धित छन्।”

चीनले के गर्छ ?

चीनका लागि खतरा मानिने विदेशमा बसोबास चिनियाँलाई लक्षित गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा “फक्स हन्ट” नामक कार्यक्रमको सञ्चालित भएको उहाँको दाबी छ।

“चीनले व्यापक रूपमा मानव अधिकार उल्लङ्घन गरेको विषय देखाउन खोज्ने राजनीतिक प्रतिद्वन्द्वी, विरोधी र आलोचकबारे हामी कुरा गर्दैछौँ,” उहाँले भन्नुभयो,“चीन सरकार उनीहरूलाई फर्किन बाध्य बनाउन चाहन्छ। अनि त्यसका लागि प्रयुक्त चिनियाँ रणनीति भयानक छ।”

एफबीआईका प्रमुख क्रिस्टोफर रे
तर चीनले आफ्नो योजनाको प्रतिरक्षा गर्दै त्यो भ्रष्टाचारविरोधी प्रयास भएको बताउने गरेको छ।

‘फक्स हन्ट’ अन्तर्गत एक व्यक्ति फेला पार्न नसकेपछि चीनले अमेरिकामा उनको परिवारलाई भेट्न दूत पठाएर “चीन फर्किन वा आत्महत्या गर्न” सन्देश दिएको उहाँको दाबी छ।

सङ्केत के हो ?

कोरोनाभाइरस महामारी फैलिएको ‍विषयदेखि चीनले हङ्‌कङमा लागु गरेको नयाँ सुरक्षा कानुनसम्म विविध विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ।

वाशिङ्टनस्थित बीबीसी संवाददाता जाउइन फङका अनुसार रेले अमेरिकाका लागि चीन “प्रमुख खतरा” भएको भनेको यो पहिलो अवसर हैन।

तर मङ्गलवार उहाँले चीनको पूरै राज्यसंयन्त्र विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्ने अभियानमा लागेको भन्दै आलोचनाको स्वर सघन बनाएको फड.को भनाइ छ।

“यसबाट अमेरिकाले अहिले चीनलाई ‘आक्रामक विपक्षी’ का रूपमा मात्रै हैन, विश्वको नेतृत्व लिने महत्त्वाकाङ्क्षा भएको प्रतिद्वन्द्वीका रूपमा पनि हेरेको सङ्केत पाइन्छ,” फड.ले भन्नुभएको छ।

Share Now

Leave a comment.