ब्रासिलिया(ब्राजिल), २४ आषाढ(बीबीसी) । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ।
उहाँलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो।
बोल्सोनारुले पटकपटक मामुली फ्लु भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँक्नुभएको थियो। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उहाँको दावी थियो ।
ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न पनि मान्नुभएको थिएन।
राष्ट्रपति बोल्सोनारुको कथन
मङ्गलवार टिभी अन्तर्वार्तामा बोल्दै राष्ट्रपति बोल्सेनारुले ज्वरो कम भइरहेको र आफूले ठीकै महसुस गरिरहेको बताउनुभएको छ। ।
उहाँले आइतवारदेखि ज्वरो र खोकीसहित बिमारी महसुस गरेको बताउनुभयो ।
सोमवार थप असहज भएपछि कोरोनाभाइरसको परीक्षण गरिएको उहाँले थप्नुभययो। ६५ वर्षीय बोल्सोनारु उमेरका कारण जोखिम समूह पर्नुहुन्छ ।
राष्ट्रपति बोल्सेनारुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघि सारेका औलोविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन लिइरहेको बताउनुभएको छ।
दुवै औषधिले कोरोनाभाइरसविरुद्ध काम गर्छ भन्ने प्रमाण छैन।

अब राष्ट्रपति बोल्सोनारुको सम्पर्कमा आएका मानिसहरूको पनि परीक्षण गरिनेछ।
यसअघि पनि तीनचोटी बोल्सोनारुको परीक्षण गरिएको थियो। त्यतिखेर उहाँमा सङ्क्रमण देखिएको थिएन।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बोल्सोनारुलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
डब्लुएचओका कार्यकारी निर्देशक डा. माइक र्यानले भन्नुभयो, ‘मलाई लाग्छ यसको सन्देश भनेको हामी सबैजना कोरोनाभाइरसको सङ्क्रमणको जोखिममा छौँ भन्ने हो।’
एप्रिल महिनामा बोल्सोनारुले आफू सङ्क्रमित भइहालेमा पनि चिन्ता नहुने किनकि त्यसबाट आफूले कुनै असहजता महसुस नगर्ने केवल सामान्य रुघाजस्तो हुनेु बताउनुभएको थियो।
त्यतिखेर कोभिड १९ का कारण ३ हजार जनाको ज्यान गएको र ४० हजार जना सङ्क्रमित भएका थिए। ती दुवै सङ्ख्या अहिले ह्वात्तै बढिसकेको छ।
राष्ट्रपति बोल्सोनारुले क्षेत्रीय रूपमा लगाइएका लकडाउनले भाइरसले भन्दा धेरै क्षति पुर्याएको भन्दै सञ्चारमाध्यमले त्रास फैलाएको दोष लगाउनुभएको छ।
त्यसयता उहाँले सङ्क्रमणविरुद्ध चालिएका विभिन्न कदमको विरोध गर्दै आउनुभएको छ। समुद्र तट बन्द गरिनु तथा मास्क लगाउनु पर्ने नियमको पनि उहाँले आलोचना गर्नुभएको थियो।
सोमवार मात्रै उनले ब्रजिलका मानिसहरूलाई सार्वजनिक स्थलमा मास्क लगाउनुपर्ने नियम खुकुलो पार्नुभएको थियो।
उहाँ पनि स्वयम् स्थानीय नियम तोड्दै कैयन् सार्वजनिक कार्यक्रममा विनामास्क सामेल हुनुभएको थियो।
आइतवार उहाँका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको तस्बिरमा राष्ट्रपति बोल्सोनारु तथा उहाँसहित केही मानिस राजधानीस्थित अमेरिकी दूतावासमा स्वतन्त्रता दिवस समारोहमा रमाइरहेको देखिन्छ।
तस्बिरमा कसैले पनि मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखिँदैन।
अमेरिकी दूतावासले जुलाई ४ मा राष्ट्रपतिसँग राजदूतले खाना खाएको उल्लेख गरेको छ। राजदूतलाई कुनै लक्षण नदेखिएपनि परीक्षण गरिने बताइएको छ।
ब्रजिलको अवस्था कस्तो छ?

ब्रजिल तथा ल्याटिन अमेरिकामा सुरुमा कोरोनाभाइरसको सङ्क्रमण सुस्त थियो तर अहिले तीव्र बनेको छ।
जुन २० मा ब्रजिल विश्वकै दोस्रो देश बन्यो जहाँ सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ। अहिले त्यो सङ्ख्या १५ लाख नाघिसक्यो। ज्यान जानेको सङ्ख्या ६० हजार नाघिसकेको छ।
तर त्यहाँ लकडाउन भने खुकुलो पारिएको छ।
रियो तथा साओ पाउलो दुवै शहरमा गत साता रेस्टुरेन्ट तथा बार खुलेका छन्।
यसबीच राष्ट्रपतिसँग असहमति भएका कारण दुई जना चिकित्सक स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन्।
एउटा सकारात्मक कुरा चाहिँ के छ भने ब्राजिलको खोपमा उल्लेख्य योगदान रहेको छ।
अहिले पनि दुई महत्त्वपूर्ण खोपको अन्तिम चरणको परीक्षण ब्रजिलका हजारौँ स्वयंसेवीहरूमा गरिएको छ।
ती परीक्षण एस्ट्राजेनेका तथा साइनोभ्याकसँग साझेदारीमा गरिँदैछ।



















