काठमाडौं, १७ कार्तिक । आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुग्नुभएको छ ।
राजकुमार शेख मोहम्मदसहितको १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो ।
आरोहण व्यस्थापक कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको छ।
विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लाम आरोहणकोलागि कतारको राजकुमारसहितको टोली कार्तिक ५ गते (अक्टोबर २२) मा नेपाल आइपुगेको थियो भने हिमाल आरोहणका लागि कार्तिक ११ गते काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।
आरोहणको व्यवस्थापन मिलाएको हिमालयन गाइडस नेपालका प्रवन्ध निर्देशक पौडेलले भन्नुभयो, ‘अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको छ । यदि मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सम्पन्न गरे काठमाडौं फर्किने छ ।’
सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।
राजकुमार शेख मोहम्मद बिन अब्दुल्लाहले २०७० को जेठमा नेपाल पट्टिबाट सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।
कतारका राजपरिवारका साहसी सदस्य अब्दुल्लाहले ४ हजार ८ सय १० मिटरको माउन्ट ब्लांक, ५ हजार ८ सय ९५ मिटरको माउन्ट किलोमन्जारो र अन्टार्टिकाको अग्लो माउन्ट भिन्सन (४ हजार ८ सय ९२ मिटर), युरोपको माउन्ट एलब्रस, अस्ट्रेलियाको माउन्ट कोस्कियुज्को र दक्षिण अमेरिकाको माउन्ट एकोन्काग्वा चढिसक्नुभएको छ ।

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो ।
संसारभर कोरोना महामारी फैलिएर नेपालमा परम्परागत पर्यटक आउने भारत,चीन, यूरोप र अमेरिकाले यात्रा बन्देज लगाएको बेलामा कोरोना भाइरसले कम प्रभावित मध्यपूर्वका देशहरु नेपालको पर्वतीय पर्यटनमा आकर्षित हुने संभावना बढेको छ । कोरोना भाइरसबाट अफ्रिका र मध्यपूर्वका अधिक उष्ण क्षेत्रका देशमा त्यति नोक्सान पुगेको छैन । यसले नेपालको पर्यटन बजार विस्तारमा पनि सहयोग पुग्ने देखिएको छ ।



















