Prakash Adhikari November 3, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १८ कार्तिक(बीबीसी) । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने गर्छ। त्यसैले नोभेम्बर ३ मा हुने निर्वाचनको परिणाम सबैको चासोको विषय बनेको छ।

अमेरिकी राजनीतिक प्रणालीमा विशेषगरी दुईवटा पार्टीको वर्चस्व रहेको छ। ती दुईमध्ये एक पार्टीका उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने गर्छन्।

रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक पार्टीका हुन् र यो वर्षको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट
पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार बन्नुभएको छ । उहाँ आगामी चार वर्षको कार्यकालका लागि पुनः निर्वाचित हुन चाहनुहुन्छ।

डेमोक्र्याटहरू अमेरिकाको उदारवादी भनिने राजनीतिक पार्टीका हुन् र उनीहरूका तर्फबाट यो वर्ष जो बाइडन उम्मेदवार बन्नुभएको छ ।

बाइडन एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ र यसअघि उहाँले राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आठ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन्।

राष्ट्रपति पदका ती दुवै पुरुष उम्मेदवार उमेरले ७० वर्षभन्दा माथिका हुनुहुन्छ। ट्रम्प ७४ वर्ष पुग्नै लाग्नुभएको छ भने बाइडन ७८ वर्षका हुनुहुन्छ।

विजेताको निर्णय कसरी हुन्छ ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकाको प्रत्येक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ, जुन केही हदसम्म राज्यहरूको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ।

जम्मा ५ सय ३८ वटा इलेक्टोरल कलेज मत उपलब्ध छ। जुन उम्मेदवारले २ सय ७० भन्दा बढी त्यस्तो मत प्राप्त गर्न सक्छ उही विजयी ठहरिन्छ।

यसको अर्थ सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् राष्ट्रियस्तरमा होइन।

यही कारणले गर्दा राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो। देशभरि भएको कुल मतदानमा हिलरी क्लिन्टनले पाएको कुल मत धेरै थियो तर इलेक्टोरल कलेज वा निर्वाचक मण्डलमा धेरै मत पाएका डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुनुभयो।

अमेरिकामा दुईवटालाई छाडेर बाँकी सबै राज्यमा जो जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ।

यस हिसाबले धेरैजसो राज्यहरू दुईमध्ये एक पार्टीको पक्षमा राम्रैसँग ढल्केको पाउन सकिन्छ। त्यसैले यसरी मतदाताको झुकावमा स्पष्टता नदेखिएका एक दर्जनजति राज्यमा नै चुनाव प्रचारप्रसार धेरै जसो केन्द्रित हुने गर्छ।

यस्ता राज्यहरूलाई ुब्याटलग्राउन्ड स्टेट्सु वा ‘सङ्ग्रामभूमि’ भन्ने गरिन्छ।

यो निर्वाचनमा खालि राष्ट्रपति मात्र चुनिने हुन् ?

होइन। चुनावको चर्चामा ट्रम्प र बाइडनमात्रै देखिए पनि मतदाताहरूले कङ्ग्रेस भनिने अमेरिकी संसदको सदस्यका लागि पनि मतदान गर्छन्।

तल्लो सदन ‘हाउस अफ रिप्रिजेटेन्टिभ्स’ मा डेमोक्र्याटहरूको पहिले नै बहुमत रहेको छ र तिनीहरू त्यस्तो बहुमत कायमै राखेर माथिल्लो सदन ‘सिनेट’ मा आफ्नो कब्जा जमाउन चाहन्छन्।

संसद्को दुवै सदनमा बहुमत हासिल भएमा तिनीहरूले यदि डोनल्ड ट्रम्प पुनस् निर्वाचित हुन पुगेको खण्डमा उनका योजनाहरूलाई ढिलो पारिदिने वा रोक्ने गर्न सक्छन्।

यो वर्ष हाउसमा सबै ४ सय ३५ स्थानका लागि निर्वाचन हुँदैछ भने सिनेटको ३३ स्थानका लागि पनि मतदान हुनेछ।

निर्वाचन परिणाम कहिले थाहा हुन्छ ?

मतदानका बेला खसेको प्रत्येक मत गन्नका लागि केही दिनको समय लाग्न सक्छ, तर मतदान सकिएको भोलिपल्ट बिहान सबेरै नै को विजयी भयो भनेर लगभग स्पष्ट भइसक्छ।

सन् २०१६ मा मतगणना भइरहँदा बिहानको ३ बजे नै डोनल्ड ट्रम्पले न्यूयोर्कको मञ्चबाट हर्षित समर्थकहरूको भिडलाई विजयी भावमा सम्बोधन गर्नुभएको थियो।

तर अमेरिकी निर्वाचन अधिकारीहरूले यस पटक त्यस्तो अवस्था नहुन सक्ने भन्दै हुलाकबाट मतदान गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएकोले अन्तिम मतपरिणामका लागि केही दिन वा केही हप्ता समेत लाग्न सक्ने बताइरहेका छन्।

मतदान सकिएको केही घण्टाभित्रै परिणाम थाहा हुन नसकेको पछिल्लो अवस्था सन् २००० मा देखिएको थियो।

त्यस बेला मतदानको एक महिनापछि भएको देशको सर्वोच्च अदालतको फैसलापश्चात् मात्रै निर्वाचनको विजेता निर्धारण हुन सकेको थियो।

विजेताले पदभार कहिले ग्रहण गर्छन् ?

यदि जो बाइडन विजयी भएमा उहाँले तत्कालै राष्ट्रपति ट्रम्पलाई विस्थापित गर्नुहुने छैन। किनकि नयाँ नेतालाई उहाँको सरकारका सदस्यहरू नियुक्त गर्न र योजनाहरू बनाउनका लागि समय दिन सङ्क्रमणकालीन अवधि निर्धारित छ।

नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० तारिखमा ुइनग्यूरेशनु भनिने समारोहमा पदको शपथ ग्रहण गर्ने गर्छन्।

त्यस्तो समारोह राजधानी वाशिङ्टन डीसीस्थित क्यापिटल भनिने सङ्घीय संसद् भवनबाहिरको विशाल भर्‍याङका खुड्किलाहरूमा हुने गर्छ।

उक्त समारोहपछि नयाँ राष्ट्रपति आफ्नो चारवर्षे कार्यकाल आरम्भ गर्न औपचारिक कार्यालय र निवास ह्वाइट हाउसतर्फ लाग्छन्।

Share Now

Leave a comment.