
भियना(अष्ट्रिया), १८ कार्तिक(बीबीसी) । अस्ट्रियाको राजधानी भियनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एकजना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका छन्।
राइफलसहित आएका व्यक्तिहरूले फरक फरक छ स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ।
प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडिओमा देखिन्छ।
घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भन्नुभएको छ।
सुरक्षा जाँच
एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन्।
सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ।
स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ।
प्रहरीले एउटा प्रतिआतङ्कवादी कारबाही शुरू गरेको विवरणमा जनाइएको छ।
ूपटाका पड्केको जस्तै सुनिएको थियो, पछि गोली चलेको थाहा भयो,ू एक प्रत्यक्षदर्शीको भनाइलाई राष्ट्रिय प्रशारक ओआरएफले उद्धृत गरेको समाचार संस्था एएफपीले जनाएको छ।
मध्य भियनाको ठूलो क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन्।
चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सिमानामा सुरक्षा जाँच शुरू गरेको जनाएका छन्।
कसले के भने?
युरोपेली नेताहरूले भिएना हमलाबारे सुनेर स्तब्ध भएको बताउँदै आक्रमणको भर्त्सना गरेका छन्।
युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले जीवन र मानवीय मान्यताको उल्लङ्घन गर्ने एउटा कायरतापूर्ण हमला भएको बताउनुभएको छ।
फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले अस्ट्रियाका मानिसहरूको पीडामा आफ्नो मुलुक साथमा रहेको प्रतिक्रिया दिनुभएको छ।
युरोपले हार नमान्ने आफूहरूका साझा शत्रुहरूले बुझ्नुपर्ने उहाँले टिप्पणी गर्नुभयो।
डच प्रधानमन्त्री मार्क रुटले आक्रमणलाई एउटा जघन्य कार्य भन्नुभएको छ।
जर्मन र इटालियन सरकारले युरोपमा देखिएको घृणाको विरोधमा अभिव्यक्ति दिएका छन्।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले घटनाबारे सुनेर आफू निकै स्तब्ध भएको प्रतिक्रिया दिनुभएको छ।