
नयाँदिल्ली(भारत), १८ कार्तिक । भारतको बिहार राज्यमा आज विधानसभाको दोस्रो चरणको मतदान हुँदैछ । आज १७ जिल्लाका ९४ सीटमा आम नागरिकले आफ्ना प्रतिनिधिहरुको चयन गर्ने बताइएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्ने बताइएको छ ।
२ सय ४३ सदस्य रहेको बिहार विधानसभामा आधाभन्दा बढी संख्यामा आज निर्वाचन भएकोले आज हुने मतदानलाई निकै महत्वको साथ हेरिएको छ। आजको निर्वाचनमा १ हजार ४ सय ६३ जना उम्मेद्वार मैदानमा उत्रिएका छन् । आजै मतदाताले मुख्यमन्त्री नितिशकुमार, विपक्षी दलका मुख्यमन्त्री उम्मेद्वार तेजस्वि यादव उनका दाई तेजप्रताप यादवसहितका नेताहरुको भाग्यको फैसला गर्नेछन् । बिहार विधानसभाको लागि पहिलो चरणमा अक्टोबर २८ मा ७१ सीटको लागि निर्वाचन भएको थियो ।
Polling began of the second phase of assembly election in the eastern Indian state of #Bihar where the fate of 94 seats will be decided.#BiharElection2020 https://t.co/KAO6dcDIQO
— WION (@WIONews) November 3, 2020
२०१५ मा भएको विधान सभामा यी ९४ स्थानमा लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल(आरजेडी)सबैभन्दा ठूलो पार्टीको रुपमा देखिएको थियो । जसमा आरजेडीको ३३, नितिशकुमारको जनता दल युनाइटेडलाई ३०, भारतीय जनता पार्टी(बीजेपी)लाई २०, कांग्रेस आईलाई ७, स्वर्गीय रामविलास पासवानले स्थापना गरेको लोक जनशक्ति पार्टी(एलजेपी) २ र अन्यले २ सीट जितेका थिए ।
बिहारमा २८ अक्टोबरमा सम्पन्न पहिलो चरणको चुनावमा ५४ प्रतिशत मत खसेको थियो । त्यहाँ तेस्रो चरणको चुनाव नोभेम्बर ७ मा ७८ सीटमा हुँदैछ ।
१० राज्यमा उपचुनाव पनि
आजै भारतका मध्यप्रदेश,उत्तरप्रदेशसहित १० अन्य राज्यमा पनि उपचुनाव हुँदैछ । अन्य राज्यका उपचुनावमा मध्यप्रदेशको उपचुनावलाई निकै महत्वकासाथ हेरिएको छ । यो उपचुनावले त्यहाँ मुख्यमन्त्री शिवराज चौहानको सत्ताको फैसला गर्ने बताइएको छ । मध्य प्रदेशमा २८ सीटमा चुनाव हुँदैछ । ती मध्ये ८ सीट जितेमा चौहानको सत्ता सुरक्षित हुनेछ नत्र संकटमा पर्नेछ ।
यसका अलावा उत्तर प्रदेशमा ७, गुजरातमा ८, छत्तीसगढ, तेलंगना र हरियाणामा एक एक, झारखण्ड, नागाल्याण्ड र उडिसामा दुई दुई सीटमा उपचुनाव हुँदैछ ।
बिहार विधानसभासहित अन्य राज्य विधानसभाका ५४ सीटमा भएको उपचुनावको मतगणना र नतिजा नोभेम्बर १० मा घोषणा गरिने भएको छ ।